काठमाडौं- सन् २०२२ देखि रोहितकुमार पौडेलले नेपाली क्रिकेट टोलीको नेतृत्व लिएका थिए। क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लागेपछि रोहितले नेपाली टिमको कप्तानी नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।
आइसिसी विश्वकप लिग-२ मा संघर्ष गरिरहेका बेला रोहितले टोलीको नेतृत्व गर्ने मौका पाएका थिए। उनी कप्तानमा नियुक्त भएसँगै नेपालको प्रदर्शनमा सुधार आयो । रोहितको कप्तानीमा त्यस संस्करणको विश्वकप लिग-२ मा नेपालले चामत्कारिक पुनरागमन गर्दै ३६ खेलमध्ये १९ मा जित र १५ खेलमा पराजय बेहोरेको थियो । यस्तै, नेपालले दुई खेलमा अंक बाँडेको थियो । पहिलो संस्करणको लिग-२ मा नेपालले तेस्रो स्थान हासिल गर्न कप्तान पौडेलको भूमिका अहम् रहेको थियो । उनले त्यस संस्करणमा ३३ खेलमा ९०९ रन बनाए ।
विश्वकप लिग-२ को शीर्ष तीनमा स्थान बनाएसँगै नेपालले रोहितको कप्तानीमा पहिलोपटक आइसिसी एकदिवसीय विश्वकप खेल्ने मौका पायो, जहाँ नेपालले पहिलोपटक नै टेष्ट मान्यताप्राप्त देश वेस्ट इण्डिज र जिम्बाब्वेविरुद्ध खेल्यो । रोहितको कप्तानीमा नेपालले पहिलोपटक सन् २०२३ मा एसीसी प्रिमियर कपको उपाधि जित्यो । त्यस प्रतियोगिताको विजेता बनेसँगै नेपालले पहिलोपटक एसीसी एसिया कप खेल्ने मौका पायो । एकदिवसीय ढाँचाको उक्त एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता शक्तिशाली क्रिकेट टोलीको सामना गर्यो ।
रोहितको कप्तानीमा नेपालले एकदिवसीयभन्दा टी-२० आईमा झन उत्कृष्ट प्रदर्शन गर्यो । उनको नेतृत्वमा नेपालले लगातार दुईपटक आइसिसी टी-२० विश्वकप खेल्यो । रोहितको कप्तानीमा नेपालले पहिलोपटक आइसिसी टी-२० विश्वकप एसिया तथा इएपिए छनोटको उपाधि जितेको थियो ।
रोहितकै कप्तानीमा नेपालले पहिलोपटक टेष्ट टिम वेस्ट इण्डिजविरुद्धको टी-२०आई शृङ्खला जित्यो । गत वर्षको सेप्टेम्बरमा आयोजित तीन खेलको उक्त शृङ्खला २-१ ले जितेको थियो । नेपालको एकदिवसीय क्रिकेट टोलीको नेतृत्व सम्हाल्ने बेला रोहितकुमार पौडेल २० वर्ष ७३ दिनको थिए । उनी अहिले पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कान्छो कप्तानको रूपमा दोस्रो स्थानमा छन् ।
रोहितभन्दा अगाडि अफगानिस्तानका राशिद खानको नाम मात्र छ । राशिदले १९ वर्ष १६५ दिनको उमेरमा एकदिवसीय टोलीको कप्तानी सम्हालेका थिए ।
रोहितको कप्तानीमा नेपालको नतिजा
रोहितको कप्तानीमा नेपालले सर्वाधिक ६३ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्यो, जसमा नेपालले ३१ खेलमा जित र ३० खेलमा हारको सामना गर्यो । यस्तै, नेपालले दुई एकदिवसीय खेल ड्र खेल्यो।
रोहितले ५९ टी-२० आई खेलमा टोलीको नेतृत्व गर्नुभयो, जसमा नेपालले ३३ खेलमा जित र २१ खेलमा हार व्यहोर्नु पर्यो । यस्तै, नेपालले तीनवटा टी-२०आई खेलमा अंक बाँडेको थियो ।
रोहित नेपालका लागि सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् । उनको कप्तानीमा नेपालले दुवै ढाँचागरी १२२ खेल खेल्यो । रोहित नेतृत्वबाट हटेसँगै क्यानले टी-२० आईमा दीपेन्द्र सिंह ऐरी र एकदिवसीय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ ।
सन्दीप चार वर्षपछि कप्तानमा फर्किएका हुन् । उनले सन् २०२२ मा नेपालको कप्तानी गरेका थिए । सन्दीपको कप्तानीमा हालसम्म नेपालले १४ एकदिवसीय र १८ टी-२० आई खेल खेलेको छ ।