काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापा विशेष महाधिवेशनमा नअटाएकालाई केन्द्रीय समितिमा ल्याउन लचक देखिएका छन् । आइतबारको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले शेरबहादुर देउवापक्षलाई पनि समेटेर १५औं महाधिवेशनमा जान आफू तयार रहेको बताएका हुन् ।
यसअघि देउवापक्षका नेताहरुको प्रस्तावको बेवास्ता गर्दै आएका सभापति थापाले देउवापक्षले साउन २९ गते राष्ट्रिय भेलाको तीव्र तयारी गरेपछि मिलेर जान सकिने बताए । ‘विशेष महाधिवेशन गरेर आएका साथीहरू र विशेष महाधिवेशनमा भाग लिएका वा नलिएका सबै साथीहरू हामी यहीँभित्र छौं, बाहिर पनि छौं, सँगै छौं । अब अधिवेशन गरौं,’ थापाले भने, ‘सबै कुरामा बसेर छलफल गरौं, कुराकानी गरौं । सबै साथीहरूलाई समेटेरै अधिवेशनतर्फ लैजाने हो, यो हाम्रो जिम्मेवारी हो ।’
उनले निवर्तमान सभापति देउवाले पार्टीमा गरेको योगदान भुल्नै नसक्ने भन्दै तारिफसमेत गरे । ‘पार्टीका निवर्तमान सभापति आदरणीय शेरबहादुर देउवादेखि लिएर अघिल्लो केन्द्रीय समितिमा रहनुभएका प्रत्येक साथीहरूले पार्टीको जीवनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँहरूप्रतिको त्यो आदर छँदै छ,’ थापाले भने ।

पार्टीका निवर्तमान सभापति आदरणीय शेरबहादुर देउवादेखि लिएर अघिल्लो केन्द्रीय समितिमा रहनुभएका प्रत्येक साथीहरूले पार्टीको जीवनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । सबै साथीहरूलाई समेटेरै अधिवेशनतर्फ हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी पूरा गर्ने कुरामा कुनै तलमाथि हुने छैन ।
गगन थापा
सभापति, नेपाली कांग्रेस
देउवा समूहको नेतृत्व पूर्वउपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । यो समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई संयोजक बनाएर साउन २९ गते राष्ट्रिय भेला गर्दै छ । उक्त भेलामा सम्बोधन गर्न बिहीबार पूर्वसभापति देउवा हङकङबाट नेपाल आउँदै छन् । देउवा समूहले १४औं महाधिवेशनबाट केन्द्रीय समितिमा आएका सबैलाई गगन नेतृत्वको कार्यसमितिमा अटाउन माग गरेको थियो । उक्त मागमा गगनले कुनै सुनुवाइ नगरेपछि देउवा समूहले अन्तिम चेतावनीस्वरुप २९ गतेसम्म पर्खनसक्ने जनाएको छ ।
यसका लागि थप संवाद गर्न सकिने सभापति थापाले बताए । यद्यपि आफू विधानको सीमाभित्र बस्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै थापाले तर्साउने प्रयास नगर्नसमेत सचेत गराए । ‘यो जिम्मेवारी पूरा गर्ने कुरामा कुनै तलमाथि हुने छैन । यसका लागि संवाद गरिरहेको छु, थप संवाद पनि गर्छु । तर एउटा कुराचाहिँ सबैले ख्याल गरिदिनुहुन म आग्रह गर्न चाहन्छु- तर्साएरचाहिँ म तर्सिन्नँ ! दबाएर पनि म दब्दिनँ, र फुक्का ढाँचामा फकाएर पनि फकिन्नँ,’ थापाले भने, ‘मलाई विधान थाहा छ, विधानको सीमा थाहा छ । विधानको सीमाभित्र म बस्नुपर्छ र म विधानकै सीमाभित्र बस्छु ।’

पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष-विशेष आग्रह र अनुरोध छ- तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रपंक्तिमा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौं, र बन्छौं ।
पूर्णबहादुर खड्का
पूर्वउपसभापति, नेपाली कांग्रेस
यो बीचमा देउवापक्षले पार्टीको आधिकारिकता विवाद फैसलामा पुनरवलोकन दर्ता गराएको छ । जसका कारण पनि गगन लचक बनेको देखिन्छ । गत पुस मसान्तमा भएको विशेष महाधिवेशनले कांग्रेसको नेतृत्वमा गगन आएसँगै निर्वाचन आयोगले उनकै नेतृत्वलाई आधिकारिता दिएको थियो । देउवा समूह आयोगको निर्णयविरुद्ध सर्वोच्च गए पनि वैशाख ४ गते सर्वोच्चले आयोगको निर्णयलाई नै सदर गरिदिएको थियो ।
उक्त फैसलाको पुनरवलोकन निस्सा पाएसँगै देउवा समूहमा खुसी छाएको छ भने आधिकारिता पाएको थापा सशंकित बनेको देखिन्छ । यसलाई सभापति थापाले शक्ति र सत्ताको घेराबन्दी भएको दाबी गरेका छन् । ‘केही समय लाग्ला, तर हामी यो पार्टी सम्हाल्छौं । यो पार्टीको महाधिवेशन पनि गर्छौं, समयमै गर्छौं । पार्टीको न्यायिक लडाइँ पनि लड्छौं, कानुनी लडाइँ पनि लड्छौं र राजनीतिक लडाइँ पनि लड्छौं । सबै खालका घेराबन्दीहरू चिरेर अघि बढ्छौं,’ सभापति थापाले भने, ‘हामीभन्दा बाहिर बसेका शक्ति र सत्ताले नेपाली कांग्रेसलाई कसरी घेराबन्दी गरिरहेका छन् भन्ने कुराको हामीलाई राम्रो जानकारी छ । सबै सूचना हामीले राखेका छौं । ती सबैसँग लड्ने र जुध्ने तागत हामी राख्छौं भन्ने विश्वासका साथ हामी अगाडि बढ्नुपर्छ ।’
गगनलाई खड्काको चेतावनी
नमिले सबै खरानी हुन्छौं
सभापति गगन थापाले केन्द्रीय समितिमा सम्बोधन गरेकै दिन पार्टीका पूर्वउपसभापति खड्काले पार्टी एकता हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले सभापति थापालाई एकताका लागि हिम्मत गरे आफू सहयोगी बन्ने बताएका छन् । ‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष-विशेष आग्रह र अनुरोध छ- तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रपंक्तिमा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौं, र बन्छौं,’ खड्काले भनेका छन् ।
निर्णायक थापा नै भएको र हेक्का नराखे सबै खरानी उनले चेतावनी दिएका छन् । ‘निर्णायक तपाईं हो, तपाईं । पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लागि पार्टीका र भ्रातृ-शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध अनि अपिल- राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ, अनि त्यसमा हामी रहने ठाउँ रहन्छ, नभए सबै खरानी हुन्छ । हामी सबैमा हेक्का रहोस्,’ खड्काले भनेका छन् ।
कांग्रेस एकताका लागि नेतृत्वले घमण्ड र प्रतिशोध छाड्नुपर्ने सुझाएका छन् । कांग्रेसलाई कमजोर बनाएर संविधानलाई नै धरापमा पार्ने षडयन्त्र अहिले भइरहेको खड्काको दाबी छ । यसका लागि तत्काल निर्णायक अग्रसरता लिनुपर्ने खड्काको भनाइ छ । ‘यसका लागि पार्टीका हामी जिम्मेवार प्रत्येक व्यक्तिले हाम्रा व्यक्तिगत अस्वाभाविक महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध अनि कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरताका लागि अघि बढौं,’ उनले भनेका छन् ।
सर्वोच्च अदालतले दिएको निस्सा सम्पूर्ण एकताको अन्तिम अवसरसमेत भएको खड्काको तर्क छ । ‘सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौं,’ उनले भनेका छन् ।