काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हाे।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार यसपटक एनपीएल नेपालीहरूको प्रमुख चाड दसैँ र तिहारको बीचमा आयोजना हुने भएको छ। यसअघि तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक भने चाडपर्वको मौसममै आयोजना हुन लागेको छ।
मिति सार्वजनिक भएसँगै प्रतियोगिताको तयारी, टिम तथा खेलाडी छनोट र खेल तालिका प्रकाशनजस्ता अन्य व्यवस्थापकीय कामहरू अघि बढ्ने अपेक्षा गरिएको छ। चाडपर्वको लामो बिदाको समयमा पर्ने भएकाले यस संस्करणमा मैदानमा दर्शकहरूको उपस्थिति र आकर्षण अझ बढेर जाने अनुमान गरिएको छ।