काठमाडौं- आउँदो सेप्टेम्बरमा नेपाली क्रिकेट टोलीले न्युजिल्यान्ड ए सँग अभ्यास एकदिवसीय खेल खेल्ने भएको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार सामाजिक सञ्जालमार्फत टप एन्ड टी-२० सिरिजका लागि टोली घोषणा गर्ने क्रममा त्यसपछि अभ्यास एकदिवसीय खेल्ने तय रहेको जनाएको हाे ।
तालिकाअनुसार न्युजिल्यान्ड ‘ए’ ले सेप्टेम्बर २ मा दक्षिण अस्ट्रेलिया, सेप्टेम्बर ४ मा तास्मानिया र सेप्टेम्बर ६ मा नेपालसँग खेल्नेछ। तीनवटै खेल अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउन्ड-२ मा हुनेछन् । त्यसअघि न्युजिल्यान्ड ‘ए’ टोलीले अगस्ट २० देखि ३० सम्म हुने एनटी टप एन्ड टी-२० सिरिजमा प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ देखि सुरु भएको उक्त प्रतियोगितामा यसपटक नौ टोली सहभागी हुनेछन् ।
टप एन्ड सिरिजमा नेपालले खेल्ने खेलहरूको तालिका सार्वजनिक भइसकेको छ । न्युजिल्यान्ड ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव भएका १३ खेलाडी समावेश छन् । टोलीमा क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडेन लेनोक्स र बेन लिस्टरजस्ता ब्ल्याकक्याप्सबाट खेलिसकेका खेलाडी रहेका छन् ।
यीमध्ये केही खेलाडीले गत महिना वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा पनि न्युजिल्यान्डको प्रतिनिधित्व गरेका थिए । नेपालका लागि यो अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका हिसाबले महत्वपूर्ण हुनेछ ।