काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
झापाको कनकाई नगरपालिका-२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०२ ग्राम ३१० मिलिग्राम, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल सात हजार २०० ट्याब्लेट र नाइट्राभेट सात हजार ४५० ट्याब्लेटसहित भारतको विहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा-८ छिप्टिया टोलका २७ वर्षीय अझर अन्सारी र कुरसाकट्टा-७ तकियाटोलका २८ वर्षीय मोहम्मद एजवाललाई शनिबार पक्राउ गरिएको हो ।
यसैगरी, झापाको दमक नगरपालिका-५ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ५२० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल चार हजार ९६० ट्याब्लेटसहित सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका-२ की २३ वर्षीया रोमी लिम्बू तथा झापाको दमक नगरपालिका-७ का २९ वर्षीय करण मल्लिक पक्राउ परेका छन् ।
कैलालीको टीकापुर नगरपालिका-१ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४३० मिलिग्रामसहित सोही ठाउँका २० वर्षीय क्रिस शर्मालाई पक्राउ गरिएको छ । यसैगरी, टीकापुर नगरपालिका-९ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ७९० मिलिग्रामसहित टीकापुर नगरपालिका-७ बेलुवाका ३० वर्षीय तेज बुढा पक्राउ परेका छन् ।
मोरङको लेटाङ नगरपालिका-२ धोबीकी २७ वर्षीया प्रमिला लामालाई ट्रामाडोल १५० ट्याब्लेट र स्पास्पेन १५० ट्याब्लेटसहित पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० आदर्श टोलबाट ट्रामाडोल १९ ट्याब्लेट, डाइक्लोमाइन २८ ट्याब्लेट र नगद १३ हजार ७७५ रुपैयाँ सहित पथरीशनिश्चरे नगरपालिका-१ सुन्दर बस्तीका २७ वर्षीय मिका खत्री र २७ वर्षीया कृष्टि भन्ने बन्दना माखिमलाई पक्राउ गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित सोही ठाउँका २४ वर्षीय रोहित घिसिङ, सोही नगरपालिका-४ जिरो ड्यामबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५०० मिलिग्रामसहित सोही ठाउँका २८ वर्षीय लोकेन्द्रबहादुर रावल तथा वीरेन्द्रनगर नगरपालिका-२ भुरेली गाउँबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २१० मिलिग्रामसहित सोही ठाउँका ३१ वर्षीय चित्र थापालाई पक्राउ गरिएको छ ।
यसैगरी, दाङको घोराही उपमहानगरपालिका-१३ सिजस्वर्ग टोलका १७ वर्षीय किशोरलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ पाँच ग्राम ११० मिलिग्राम, नगद ७४ हजार रुपैयाँ र एक थान डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।