काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाए । बैठकमा सहभागी प्रमुख राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहको भूमिकामाथि कडा प्रश्न उठाए ।
उनीहरूले राष्ट्रिय संकटका बेला प्रधानमन्त्रीले नेतृत्व लिन नसकेको आरोप लगाए । सर्वदलीय बैठक आफैंले नबोलाएको विषय पनि आलोचनाको केन्द्र बन्यो । सेना परिचालनको निर्णयमाथि पनि एकपछि अर्को प्रश्न उठाइयो । बैठकमा सहभागी नेताहरूको साझा भनाइ थियो- राष्ट्रिय संकटमा सरकार अगाडि देखिनुपथ्र्यो । प्रधानमन्त्रीले सबै दललाई एकै ठाउँमा राखेर समाधान खोज्नुपथ्र्यो, तर त्यसो नभएको उनीहरूको आरोप थियो ।

आजको आवश्यकता शान्ति र अमनचयन कायम गर्नु हो । सामाजिक सद्भाव भड्किन नदिन हामी गम्भीर हुनुपर्छ ।
रवि लामिछाने
सभापति, रास्वपा
सबैभन्दा पहिले धारणा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपा सभापति लामिछानेले बैठक बोलाएकोमा स्वागत गरे । तर, यस्तो बैठक बोलाउने दायित्व प्रधानमन्त्रीकै भएको उनको भनाइ थियो । दाहालले भने, ‘सुनसरी घटनापछि उत्पन्न तनाव मत्थर भएको छैन । विगतमा पनि देशमा ठूलै संकट निम्तिँदा सर्वदलीय बैठक बोलाउने, छलफल गर्ने र निष्कर्षमा पुग्ने गरिएकै हो । यसपटक रास्वपाका सभापति रवि लामिछानेजीले बैठक बोलाउनुभयो । यो प्रयत्न ठीक छ । तर, सर्वदलीय बैठक प्रधानमन्त्रीले आह्वान गर्नुपथ्र्यो । उहाँले किन बोलाउनुभएन ? देशमा यत्रो संकट निम्तिएको छ । उहाँ गम्भीर नभएको यसबाट पनि देखिन्छ ।’

सर्वदलीय बैठक प्रधानमन्त्रीले आह्वान गर्नुपथ्र्यो । उहाँले किन बोलाउनुभएन ? देशमा यत्रो संकट निम्तिँदा उहाँ गम्भीर नभएको यसबाट पनि देखिन्छ ।
पुष्पकमल दाहाल
संयोजक, नेकपा
दाहालले राष्ट्रिय संकटमा दलहरूबीच सहकार्य आवश्यक हुने बताए । ‘सदनमा सत्तापक्ष र प्रतिपक्ष हुन्छ । तर, राष्ट्रिय संकटको सामूहिक सामना गर्ने हो । हामी साथ दिन तयार छौं । तर, बैठक नबोलाउने र समाधानका लागि पहल नगर्ने शैली ठीक होइन,’ उनले भने ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संकटका बेला नेतृत्व दिन नसकेको टिप्पणी गरे । उनले सरकार सुरक्षा कारबाहीमामात्रै केन्द्रित भएको आरोप लगाए । ‘सरकार कहाँ छ ? सरकार के गरिरहेको छ ? सरकार केवल गोली र लाठीमामात्र भेटिनु र स्टाटसमामात्र सीमित रहने ? सरकार भनेको अभिभावकमात्र होइन, नेतृत्वकर्ता पनि हो । उसले सबैलाई विश्वासमा लिन सक्नुपर्छ,’ उनले भने ।

सरकार कहाँ छ ? सरकार के गरिरहेको छ ? सरकार केवल गोली र लाठीमामात्र भेटिनु र स्टाटसमामात्र सीमित रहने ? सरकारले सबैलाई विश्वासमा लिन सक्नुपर्छ ।
गगन थापा
सभापति, नेपाली कांग्रेस
सभापति थापाले सुनसरी घटनालाई राज्य संयन्त्रको कमजोरीसँग जोडे । ‘कसैलाई दोष दिएरमात्रै हुँदैन । यो राज्यको असफलताको निरन्तरता हो । मधेसमा कुनै घटना हुँदा अत्यधिक बल प्रयोग गरिन्छ । विगतमा पनि गलत थियो । अहिले पनि गलत छ,’ उनले भने । उनले घटनाबारे संसद्मा गम्भीर छलफल हुनुपर्ने र निष्पक्ष छानबिन आवश्यक रहेको पनि बताए ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी घटनामा सुरक्षा चुक भएको दाबी गरे । त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनको माग थियो । ‘घटनाको क्षति अस्वाभाविक छ । गोली चलाउने अवस्था किन आयो ? सेना किन परिचालन गरियो ? सेनाप्रति प्रधानमन्त्रीको अतिरिक्त मोह किन ?,’ पोखरेलको आक्रोश थियो ।

घटनाको क्षति अस्वाभाविक छ । गोली चलाउने अवस्था किन आयो ? सेना किन परिचालन गरियो ? सेनाप्रति प्रधानमन्त्रीको अतिरिक्त मोह किन ?
शंकर पोखरेल
महासचिव, नेकपा एमाले
पोखरेलले सरकारले राजनीतिक नेतृत्व दिन नसकेको पनि बताए । ‘शान्ति सुरक्षा सुदृढ बनाउने जिम्मेवारी सरकारको हो । त्यसको नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्छ । सरकार र प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने पहलकदमीमा कमी देखिएको छ,’ उनले भने ।
उनले सुरक्षा निकायको क्षमता र साधन-स्रोतको पनि समीक्षा गर्नुपर्ने बताए । ‘यदि मनोबल गिरेको हो वा साधन-स्रोतको अभाव हो भने त्यसको अध्ययन हुनुपर्छ । भविष्यमा मानवीय क्षति नहुनेगरी भीड व्यवस्थापन गर्ने क्षमता विकास गर्नुपर्छ,’ पोखरेलले भने ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री र गृहमन्त्री दुवै बैठकमा अनुपस्थित रहेको विषयलाई गम्भीर रूपमा उठाए । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुपथ्र्यो । होइन भने पनि प्रधानमन्त्री र गृहमन्त्री बैठकमा हुनुपथ्र्यो तर, उनहरू स्टाटसमै देखिनुभयो,’ उनले भने ।
ङ्देम्बेले सुरक्षा निकायलाई पहिल्यै सूचना हुँदाहुँदै पनि प्रभावकारी कदम चाल्न नसकेको दाबी गरे । ‘दुई समुदायबीचको तनावबारे सुरक्षा निकायलाई पहिल्यै जानकारी थियो । नियन्त्रणको प्रयास किन भएन ? अहिले सेना परिचालन गरियो । के सेना हरेक समस्याको अचुक समाधान हो ?,’ उनले भने ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घटनाको जरासम्म पुग्न स्वतन्त्र अनुसन्धान आयोग गठन गर्न माग गरे । ‘कप्तानगञ्ज घटनाको जरासम्म पुग्नुपर्छ । तुरुन्त आयोग बनाऔं । संवाद गरौं । यो अत्यन्त संवेदनशील विषय हो,’ उनले भने ।
लिङ्देनले धार्मिक विषयमा राज्यले समान व्यवहार गर्न नसकेको आरोप पनि लगाए । ‘राज्यको उदासीनताका कारण फेरि यस्तो घटना भयो । प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास निर्भयपूर्वक गर्न पाउनुपर्छ,’ उनले भनिन् । उनले मृतकका परिवारलाई राहत, घाइतेको उपचार र दोषीमाथि कारबाही गर्न पनि सरकारसँग माग गरे ।

दुई समुदायबीच आपसी संवाद र छलफलबाट तनाव मत्थर गर्न सकिन्छ । सेना उतारेर तर्साएर हुँदैन ।
डा. सिके राउत
अध्यक्ष, जनमत पार्टी
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सेना परिचालनको प्रभावकारितामाथि प्रश्न उठाए । उनले सामाजिक तनाव सैन्य बलले नभई संवादबाट समाधान हुने बताए । ‘दुई समुदायबीच आपसी संवाद र छलफलबाट तनाव मत्थर गर्न सकिन्छ । सेना उतारेर तर्साएर हुँदैन,’ उनले भने ।
बैठकमा सहभागी अन्य नेताहरूले सुनसरीको घटनालाई स्थानीय विवादका रूपमा नहेर्न सरकारलाई आग्रह गरे । उनीहरूले सामाजिक सद्भाव बिग्रिन नदिन राजनीतिक नेतृत्व सक्रिय हुनुपर्ने बताए । प्रभावित क्षेत्रमा विश्वासको वातावरण बनाउनुपर्नेमा पनि जोड दिए ।
बैठकमा बारम्बार प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठ्यो । अधिकांश नेताले राष्ट्रिय संकटका बेला प्रधानमन्त्री आफैं अग्रसर हुनुपर्ने बताए । सर्वदलीय बैठक सरकारकै पहलमा हुनुपर्ने उनीहरूको धारणा थियो । प्रधानमन्त्री बैठकमा अनुपस्थित रहनु र सार्वजनिक रूपमा सक्रिय नदेखिनुलाई उनीहरूले नेतृत्वको कमजोरीका रूपमा चित्रण गरे ।
सेना परिचालनको विषय पनि बैठकको अर्को प्रमुख एजेन्डा बन्यो । नेताहरूले गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाए । स्थानीय प्रशासन र सुरक्षा निकायले समयमै तनाव नियन्त्रण गर्न नसकेको हो कि भन्ने विषयमा पनि छानबिन हुनुपर्ने माग गरे । कतिपय नेताले सेना अन्तिम विकल्प हुनुपर्ने धारणा राखे भने संवाद र राजनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य
सर्वदलीय बैठकमा रास्वपा सभापति लामिछानेले शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य भएकोमा जोड दिए । उनले विषम परिस्थितिमा राजनीतिक आग्रह-पूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका खातिर सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
बैठकपछि सञ्चारकर्मीसँग उनले बैठक प्रमुख दलका शीर्ष नेताहरूबाट मार्गदर्शन पाउन तथा देशमा असहज परिस्थिति उत्पन्न भएका बेला राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिनुपर्ने र आवश्यकअनुसार सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरिएको बताए । उनले राजनीतिक रूपमा लड्ने मैदान आ-आफ्ना भए पनि यस्तो विषयमा आरोप-प्रत्यारोप नगरी साझा राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
‘हाम्रो पहिलो दायित्व देशमा शान्ति सुरक्षा कायम गर्ने हो । सरकारले आफ्नो काम गरिरहेको छ । आजको आवश्यकता शान्ति र अमनचयन कायम गर्नु हो । सामाजिक सद्भाव भड्किन नदिन हामी गम्भीर हुनुपर्छ,’ सभापति लामिछानेले भने, ‘नागरिकको ज्यान ज्यानु गम्भीर विषय हो । घटनाको सत्यतथ्य छानबिनपछि सार्वजनिक हुने छ । अहिले बाहिर आएका कतिपय विषय अफवाह पनि हुन सक्छन् ।’
फेसबुकमार्फत प्रधानमन्त्रीको सन्देश
प्रधानमन्त्री शाहले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाबारे पहिलोपटक सार्वजनिक धारणा व्यक्त गरेका छन् । मंगलबार मध्यराति फेसबुकमार्फत सन्देश जारी गर्दै उनले संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र उत्तेजनाबाट टाढा रहन सबैलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शाहले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूको पीडा आफूले महसुस गरेको उल्लेख गरे । सरकारले छिट्टै न्याय, क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
प्रधानमन्त्री शाहले सुरक्षार्कीको गोलीबाट नागरिकको मृत्यु हुनु र घाइते हुनु सामान्य घटना नभएको बताएका छन् । उनले घटनाको निष्पक्ष अनुसन्धान गर्न र कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् ।