काठमाडौं- आज मानव बेचबिखनविरुद्ध विश्व दिवस हो । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।
सन् २०१३ डिसेम्बर १८ मा राष्ट्रसंघीय महासभाले मानव बेचबिखनविरुद्ध विश्व दिवस घोषणा गरेपछि सन् २०१४ देखि प्रत्येक वर्ष जुलाई ३० मा मनाउन यो दिवस थालिएको हो । मानव बेचबिखन रोकथाम, पीडितको संरक्षण तथा अन्तरदेशीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ भएको हो ।
यस वर्ष दिवस ‘ठगीको जालभित्र थुनिएका’ मूल नाराका साथ मनाइँदैछ । राष्ट्रसंघले अन्तरदेशीय संगठित अपराध समूहले मानिसलाई जबर्जस्ती अनलाइन ठगी सञ्चालनमा प्रयोग गर्ने मानव बेचबिखनको तीव्र रूपमा फैलिँदै गएको नयाँ स्वरूपप्रति विश्व समुदायको ध्यानाकर्षण गराएको छ । उक्त विश्व संस्थाका अनुसार आपराधिक समूहले आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानिसलाई अर्को मुलुकमा लैजाने र त्यसपछि उनीहरूलाई गैरकानुनी ‘स्क्याम सेन्टर’मा बन्दी बनाई प्रेम सम्बन्धका नाममा गरिने ठगी, क्रिप्टोकरेन्सी ठगी तथा अन्य साइबर माध्यमबाट हुने वित्तीय अपराध सञ्चालन गर्न बाध्य पार्ने गरेका छन् । पीडितलाई निरन्तर निगरानी, हिंसा, धम्की, ऋणको भार तथा अत्यधिक कार्यदबाबमा राखिने भएकाले उनीहरू उम्किन वा सहयोग खोज्नसमेत नसक्ने अवस्था सिर्जना हुने गरेको छ ।
संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) का अनुसार पूर्वी तथा दक्षिणपूर्वी एसियामा मात्र सन् २०२३ मा यस्ता ठगीका कारण करिब १८ देखि ३७ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । उक्त क्षतिको ठूलो हिस्सा यस क्षेत्रमा सक्रिय संगठित आपराधिक समूहद्वारा सञ्चालित साइबर ठगीसँग सम्बन्धित छ ।
युएनओडिसीले दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकमा पीडितको पहिचान, उद्धार, अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन प्राविधिक सहयोग, अनुसन्धानकर्तालाई तालिम तथा विशेष कार्यदल गठनमा सहयोग गर्दै आएको जनाएको छ । यसका साथै साइबर अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा जबर्जस्ती अपराधमा संलग्न गराइने मानव बेचबिखनजस्ता आधुनिक अपराधलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आवश्यक कानुनी सुधारमा पनि सदस्य राष्ट्रलाई सहयोग उपलब्ध गराउँदै आएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२४ को डिसेम्बरमा स्वीकार गरेको साइबर अपराधसम्बन्धी महासन्धिले डिजिटल अपराध, अनलाइन ठगी तथा प्रविधिमा आधारित संगठित अपराधविरुद्ध अन्तरराष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसले विद्युतीय प्रमाण संकलन तथा आदानप्रदानलाई सहज बनाउँदै सीमापार सञ्चालन हुने आपराधिक सञ्जालविरुद्धको अनुसन्धानलाई सुदृढ पार्ने विश्वास गरिएको छ ।
युएनओडिसीले मानव बेचबिखनविरुद्ध विश्व दिवस २०२६ का अवसरमा पीडितको संरक्षण, न्यायिक तथा कानुन कार्यान्वयन निकायबीच सीमापार सहकार्य विस्तार र मानव बेचबिखनसँग सम्बन्धित ठगी सञ्चालन गर्ने संगठित अपराध समूहविरुद्ध समन्वित कारबाहीलाई तीव्र बनाउन विश्व समुदायलाई आह्वान गरेको छ ।
युएनओडिसीले कोभिड-१९ महामारीपछि मानव बेचबिखनको स्वरूप झन् जटिल बन्दै गएको तथा प्रविधिमा आधारित शोषण र साइबर माध्यमको दुरुपयोग उल्लेखनीय रूपमा बढेको जनाएको छ ।