काडमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले विश्वकप र आफ्ना अन्य प्रतियोगिताहरूको सेयर निजी लगानीकर्ताहरूलाई बेच्ने प्रस्ताव अघि सारेको छ । फिफाको यो प्रस्तावले युरोपेली फुटबलको सर्वोच्च निकाय (यूईएफए) लाई क्रोधित बनाएको छ ।
फिफाले घोषणा गरेको योजनाअनुसार विश्वकप र अन्य प्रतियोगिताहरू सञ्चालन गर्न २० अर्ब डलरको एउटा सहायक कम्पनी स्थापना गरिनेछ । ’फिफा फरवार्ड इन्टरप्राइज’ नाम रहने उक्त नयाँ कम्पनीमा फिफाले बहुमत सेयर आफूसँगै राख्नेछ । ४.२ अर्ब डलरसम्म पुँजी जुटाउनका लागि अल्पसंख्यक सेयर भने बाह्य लगानीकर्ताहरूलाई बिक्रीका लागि खुला गरिने फिफाले जनाएको छ ।
यस प्रस्तावलाई अन्तिम रूप दिन फिफाका २११ सदस्य राष्ट्रहरूले मतदान गर्नुपर्नेछ । यो योजना सफल भएमा लगानीकर्ता समूहको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्ररका भाइ जोसुवा कुश्ररले स्थापना गरेको कम्पनीले गर्ने अपेक्षा गरिएको छ ।
फिफाको यो कदमप्रति यूईएफएले कडा आपत्ति जनाएको छ । यूईएफएलेले यो प्रस्तावले फुटबलका प्रशासकीय निकायहरूले कहिल्यै नाघ्न नहुने रेखा नाघेको टिप्पणी गरेको छ ।
भर्खरै मात्र अमेरिका, क्यानडा र मेक्सिकोमा ४८ टोली सहभागी इतिहासकै सबैभन्दा ठूलो विश्वकप सम्पन्न गरेको फिफा विश्वकै धनी खेलकुद संस्थाहरूमध्ये एक हो । प्रसारण अधिकार, प्रायोजन र अन्य व्यावसायिक सम्झौताहरूबाट फिफाले अरबौं डलर आम्दानी गर्दै आएको छ । तर यो नयाँ प्रस्तावले खेलमा पहुँच बढाउन र विश्वव्यापी सहभागितालाई सुदृढ गर्न कोष वृद्धि गर्ने फिफाको दाबी छ । यसबाट प्राप्त हुने खुद लाभ पुनः फुटबल विकासमै लगानी गरिने उसले जनाएको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एक विज्ञप्ति जारी गर्दै फुटबल विश्वकै सबैभन्दा लोकप्रिय खेल भएको बताएका छन् । खेलका केही पक्षहरूले यो लोकप्रियतालाई उल्लेखनीय व्यावसायिक मूल्यमा बदलेको र त्यसले सिङ्गो खेललाई माथि उठाउने भएकाले यो सफलतालाई निरन्तरता दिन चाहेको उनले उल्लेख गरेका छन् । तालिका र प्राविधिक निर्णयहरूमा फिफाकै एकाधिकार कायम रहने प्रस्ट पारिएको छ ।
फिफाको यस प्रस्तावले यूईएफएसँगको सम्बन्धमा थप दरार पैदा गरेको छ । यूईएफएलेले आफूलाई फुटबलको संरक्षकका रूपमा उभ्याएको छ भने मुनाफा रहित संस्था फिफाले वित्तीय सहयोगमार्फत खेलको पहुँच विस्तारमा ध्यान केन्द्रित गरेको दाबी गरेको छ । बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहामले पनि यस कदमको आलोचना गरेका छन्।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन, ’विश्वकप कुनै उत्पादन वा बिक्रीका लागि राखिएको सामान होइन । यो विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो र यो कसैको बिक्री गर्ने वस्तु कहिल्यै थिएन । यो सम्झौतालाई जसरी व्याख्या गरे पनि, एक पटक यसको अंश बेचेपछि तपाईले सिद्धान्त बेचिसक्नुभएको हुन्छ।’