पर्यटन क्षेत्रलाई दिगो विकास, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन स्पष्ट योजना, प्रभावकारी बजारीकरण योजना तथा कार्यान्वयन र सबै पक्षको साझा प्रतिबद्धता आवश्यक छ । पर्यटन केवल मनोरञ्जनको माध्यममात्र होइन, देशको आर्थिक समृद्धि, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय छवि सुदृढ गर्ने महत्वपूर्ण क्षेत्र पनि हो । त्यसैले पर्यटनका विद्यमान चुनौतीलाई समयमै समाधान गर्दै सम्भावनालाई उपलब्धिमा रूपान्तरण गर्नु आजको प्रमुख आवश्यकता हो ।
नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा र हिमाली पर्यटनका कारण विश्वभर परिचित देश हो । हिमाल, पहाड र तराईको बेजोड प्राकृतिक सौन्दर्यता तथा उपजहरु, राष्ट्रिय निकुञ्ज, ऐतिहासिक सम्पदा तथा विभिन्न जातजातिका मौलिक संस्कृति नेपालको पर्यटन क्षेत्रका प्रमुख आकर्षण हुन् । यति धेरै सम्भावना हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारीकरण प्रभावकारी हुन नसक्दा अपेक्षितरूपमा पर्यटकको आगमन बढाउन सकिएको छैन । हाल पर्यटकस्तरीय होटलमा करिब ४० लाख शय्या (बेड) छन्, पूर्वाधारमा पनि उल्लेख्य सुधार भएको छ, दुईवटा थप अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेका छन् तर विदेशी पर्यटकको संख्यामा अपेक्षित सुधार आउन सकेको छैन । माग र आपूर्तिबीच सन्तुलन नमिल्दा यो समस्या देखिएको हो । गन्तव्यको माग वृद्धिका लागि रणनीतिक, सघन र प्रभावकारी बजारीकरण अपरिहार्य छ ।
कोभिड-१९ महामारीपछि नेपालको पर्यटन क्षेत्र विस्तारै पुनर्जीवित हुँदै गएको छ । विदेशी पर्यटकको आगमन बढ्दै गएको छ भने आन्तरिक पर्यटन पनि उल्लेखनीयरूपमा विस्तार भएको छ । वर्तमान अवस्थामा पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखिए पनि दीर्घकालीन योजना, पूर्वाधार विकास र गुणस्तरीय सेवा प्रवाहमा अझै धेरै सुधार आवश्यक छ । पर्यटन क्षेत्रलाई दिगो विकास, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन स्पष्ट योजना, प्रभावकारी बजारीकरण योजना तथा कार्यान्वयन र सबै पक्षको साझा प्रतिबद्धता आवश्यक छ । पर्यटन केवल मनोरञ्जनको माध्यममात्र होइन, देशको आर्थिक समृद्धि, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय छवि सुदृढ गर्ने महत्वपूर्ण क्षेत्र पनि हो । त्यसैले पर्यटनका विद्यमान चुनौतीलाई समयमै समाधान गर्दै सम्भावनालाई उपलब्धिमा रूपान्तरण गर्नु आजको प्रमुख आवश्यकता हो ।

अब के गर्ने त ?
आजको विश्वबजारमा परम्परागत ढंगले बजारीकरण हुन सक्दैन । पर्चा, पम्प्लेट र ब्रोसर बाँडेर पर्यटक आउने होइन- कुनै समय यिनै प्रचारका मुख्य माध्यम थिए, तर अहिले यसले काम गर्दैन । अन्तर्राष्ट्रिय ठूला सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्नुपर्छ । हाम्रा पर्यटकीय उपजहरु सबै एकैखालका छैनन् । त्यसैले कस्ता पर्यटकहरूले कुन उपजहरु अनुभव गर्न चाहन्छन् भन्ने आधारमा लक्षित बजारीकरण आवश्यक छ । सांस्कृतिक, प्राकृतिक एवं साहसिक पर्यटन नै हाम्रो मुख्य आकर्षणका क्षेत्र हुन् । पर्यटकका आ-आफ्नै रुचि, क्षमता र अनुभव हुने भएकाले उनीहरूलाई त्यसैअनुसारको स्वाद चखाउन सक्नुपर्छ ।
विश्व पर्यटनकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार आज पनि चीन नै हो । झन्डै १७ करोड ५० लाखभन्दा बढी चिनियाँ पर्यटक बर्सेनि विश्व भ्रमणमा निस्कने गर्छन् । त्यसको ०.०१ प्रतिशतमात्र नेपाल आउने गरेको तथ्यांक हामीमाझ छ । त्यसैगरी त्यस्तै भारतका तीन करोड पर्यटक वार्षिकरूपमा विदेश भ्रमण गर्छन् तर तिनको एक प्रतिशत पनि नेपाल आउँदैनन् । अन्य सार्क देशका पर्यटकको आगमन पनि अत्यन्त न्यून रहेको छ । भूराजनीतिक द्वन्द्वका कारण हवाई यातायात एकदम महँगो र नेपालको लामो दूरीका स्रोत बजारहरुसँगको को सम्पर्क पहुँच (कनेक्टिभिटी) कमजोर भएको परिवेशमा विश्वका दुई ठूला अर्थतन्त्र, जनसंख्या र पर्यटकहरुको उपस्थिति भएका देशहरु भारत र चीन सँगसँगै क्षेत्रीय स्रोत बजारहरुमा नेपालले आफूलाई प्रतिस्पर्धी र आकर्षक गन्तव्यका रूपमा प्रमाणित गर्न रणनीतिक बजारीकरणमा जानैपर्छ ।
नेपाल भ्रमण गर्नुअघि पर्यटकहरूले यहाँका गन्तव्यहरूबारे जानकारी, शान्ति-सुरक्षा, सेवा-सुविधा लगायत विभिन्न सहुलियत प्याकेजबारे चासो राख्ने गर्छन् । सबै पर्यटक यहाँका प्राकृतिक सम्पदा हेर्नमात्र आउँदैनन्- कोही सांस्कृतिक सम्पदा र जीवनशैली अनुभव गर्न, कोही थप सुविधा वा सहुलियतका कारण नेपाल भ्रमण गर्न उत्सुक हुन्छन् । त्यसैले सबै खालका पर्यटकलाई आकर्षित गर्न विविध र रणनीतिक बजारीकरण आवश्यक हुन्छ । चिनियाँ पर्यटकहरूलाई आफ्नो देशमा भित्र्याउन धेरै मुलुकले चीनमै आफ्ना सम्पर्क कार्यालय राख्ने, त्यहाँ विभिन्न प्रवद्र्धनात्मक क्रियाकलाप गराउने र स्थानीयस्तरमा आफ्ना प्रतिनिधि तयार गरी आफ्नो देशको प्रचारप्रसार गराउने गरेका छन्, जसका कारण उनीहरूले ठूलो संख्यामा चिनियाँ पर्यटक भित्र्याउन सफल भएका छन् । यस दिशामा नेपालले पनि पहल गर्नु आवश्यक छ । विभिन्न देशमा रहेका नेपाली दूतावासले नेपालबारे ती मुलुकलाई जति प्रभावकारीरूपमा अवगत गराउनुपर्ने हो, त्यसो हुन सकेको छैन । केवल औपचारिक जागिर वा भ्रमणको सोचलेमात्र पर्यटक भित्र्याउन सकिँदैन । स्थानीय समुदायको सहभागिता बढाइ पर्यटनबाट हुने आम्दानी गाउँ-गाउँसम्म पुर्याउन आवश्यक छ । यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय कला, संस्कृति र उत्पादनको संरक्षणमा पनि योगदान पुर्याउँछ ।
नवप्रवर्तन पर्यटन भनेको प्रविधिको उपयोगमार्फत पर्यटन अनुभवलाई नै नयाँ रूप दिनु हो । आजका पर्यटकले होटल बुकिङदेखि गन्तव्य छनोटसम्म कृत्रिम बौद्धिकता (एआई) मार्फत सहज र व्यक्तिगत सेवा खोज्ने गरेका छन् भने आभासी यात्रा पूर्वावलोकन, स्मार्ट यात्रा एप र यस्तै प्रविधिले पर्यटन अनुभवलाई थप सहज बनाइरहेका छन् । नेपालले पनि यस्तै प्रविधिमैत्री उपायहरू अपनाउनु आवश्यक छ- जस्तैः डिजिटल गन्तव्य म्याप, अनलाइन बुकिङ प्रणाली, र गन्तव्यगत जानकारी सहजरूपमा पाइने मोबाइल एपजस्ता सुविधा । यसले नेपालको पर्यटन प्रस्तुतीकरणलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुका साथै साना तथा दुर्गम गन्तव्यहरूलाई समेत विश्वबजारसम्म पुर्याउन सहयोग गर्छ । साहसिक, आरोग्य र नवप्रवर्तन- यी तीनवटै क्षेत्रलाई एकसाथ जोडेर बजारीकरण गर्न सके नेपालले फरक-फरक रुचि र क्षमता भएका पर्यटक समूहलाई एकैपटक आकर्षित गर्न सक्छ । उदाहरणका लागि, पदयात्रापछि हिमाली आरोग्य केन्द्रमा विश्राम गर्ने वा साहसिक यात्राको योजना नै डिजिटल एपमार्फत बनाउने प्याकेज नेपालका लागि नयाँ र आकर्षक उत्पादन हुन सक्छन् ।
भारतसँगको माइस अवसर
भारत आज विश्वकै सबैभन्दा छिटो वृद्धि हुने बाह्य माइस (एमआइसिई) अर्थात् बैठक, प्रोत्साहन यात्रा, सम्मेलन र प्रदर्शनी बजारमध्ये एक बनेको छ । भारतको स्वदेशी एमआइसिई बजार नै सन् २०२५ मा करिब ३७ अर्ब डलरबराबरको रहेकामा सन् २०३१ सम्ममा दोब्बरभन्दा बढी हुने प्रक्षेपण छ, भने बाह्य एमआइसिई खर्च पनि केही वर्षभित्रै १३ अर्ब डलरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । नेपाल यसअघि नै भारतीय आउटबाउन्ड पर्यटकका शीर्ष रोजाइका गन्तव्यहरूमध्ये सूचीकृत भइसकेको छ र नेपाललाई नजिकको दूरी, विविध पर्यटकीय आकर्षण र परिवर्तित एवं सुदृढ पूर्वाधार (स्तरोन्नत विमानस्थल, अन्तर्राष्ट्रिय होटल शृंखलाको आगमन) कारण सम्भाव्य गन्तव्यका रूपमा उभ्याएको छ । काठमाडौं, पोखरा र चितवनजस्ता सहरहरूलगायत तराईका सीमावर्ती गन्तव्यहरूलाई सम्मेलन तथा कर्पोरेट प्रोत्साहन यात्राका लागि उपयुक्त पूर्वाधारसहित प्रस्तुत गर्नसके भारतीय कर्पोरेट क्षेत्रसहित रहेको ठूलो पर्यटक बजार तान्न सकिन्छ, जसले उच्च खर्च गर्ने र भ्रमण-अवधि लामो हुने पर्यटक ल्याउँछ ।
डेस्टिनेसन वेडिङको सम्भावना
भारतमा गन्तव्य विवाहको प्रचलन तीव्र गतिमा विस्तार भइरहेको छ । यस क्षेत्रको बजार आकार अर्बौं डलर बराबर पुगिसकेको छ र वार्षिकरूपमा उच्च दरमा बढिरहेको छ, विशेषगरी हिमाली तथा प्राकृतिक पृष्ठभूमि भएका गन्तव्यहरूप्रति भारतीय जोडीहरूको आकर्षण उल्लेख्यरूपमा बढेको देखिन्छ । भारत सरकारले आफैं ‘वेड इन इन्डिया’ जस्ता अभियानमार्फत यस क्षेत्रलाई नीतिगत प्राथमिकतामा राखेको छ, जसबाट यो उद्योग कति महत्वपूर्ण बन्दै गएको छ भन्ने देखिन्छ । उत्तराखण्ड, हिमाचल प्रदेशजस्ता भारतकै हिमाली गन्तव्यहरूमा पनि पहाडी पृष्ठभूमिका कारण विवाह आयोजना बढ्दो क्रममा छ । यसले नेपालका लागि प्रत्यक्ष प्रतिस्पर्धा र अवसर दुवै देखाउँछ ।
नेपालका हिमाली दृश्यावलोकन हुने होटल-रिसोर्ट, ऐतिहासिक दरबार क्षेत्र र प्राकृतिक तालतलैया वरपरका स्थललाई विवाह-पर्यटन प्याकेजका रूपमा व्यवस्थित गरी भारतीय बजारमा लक्षित प्रवद्र्धन गर्न सके यसबाट राम्रो प्रतिफल लिन सकिन्छ । यस्ता आयोजनाले होटल, यातायात, सजावट, खानपानलगायत स्थानीय साना-ठूला व्यवसायमा समेत प्रत्यक्ष लाभ पुर्याउँछन् । पर्यटन क्षेत्रका चुनौतीको समाधान सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाटै सम्भव छ, र यसमा नेपाल पर्यटन बोर्डले समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ । पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक छ । हामीले पर्यटकमैत्री नीति, सुरक्षित वातावरण, गुणस्तरीय सेवा, व्यवस्थित पूर्वाधार, स्रोत बजारसँगको सम्पर्क विस्तार र डिजिटल प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्छ । साथै, पर्यटकलाई सहज सेवा उपलब्ध गराउन सूचना केन्द्र, आपत्कालीन उद्धार प्रणाली तथा दक्ष पर्यटन जनशक्ति विकासमासमेत लगानी बढाउनुपर्छ । पर्यटन क्षेत्रको नीति निर्माण र कार्यान्वयनबीच देखिने खाडल पनि सुधार्नुपर्ने देखिन्छ ।