- राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र रास्वपा सांसद खगेन्द्र सुनारबीच सामाजिक सञ्जालमा जुहारी
- एकअर्काविरुद्ध आक्रामक देखिएका सांसद शाही र सुनारले प्रयोग गरेका भाषा संसदीय मर्यादाविपरीत
- सांसदहरूको अभिव्यक्ति र व्यवहार सांसदको जस्तो हुन छाडेकोप्रति सरोकारवालाको चासो
- सांसदहरूलाई संसदीय मामिलासम्बन्धी दिइएको प्रशिक्षण प्रभावहीन
काठमाडौं- जनताको सर्वोेच्च प्रतिनिधिमूलक संस्था संसद्मा पुग्ने सांसदबाट संयमित अभिव्यक्ति, शालीन व्यवहार र लोकतान्त्रिक संस्कारको अपेक्षा गरिन्छ । पदीय गरिमा र मर्यादा कायम गर्नु त स्वयंको दायित्व पनि हो ।
तर, पछिल्ला दिनमा सांसदहरूको सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालमा प्रस्तुत हुने शैली र सार्वजनिक कार्यक्रममा देखिने व्यवहारले उनीहरू पदीय गरिमा र सांसदको मर्यादाबाट टाढिँदै गएका छन् । यसको पछिल्लो उदाहरण बनेको छ- जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारबीचको सार्वजनिक विवाद ।
जापानस्थित नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका दुवै सांसदले प्रवासी नेपालीका समस्या, नेपाल-जापान सम्बन्ध वा सहकार्यका विषयमा केन्द्रित हुनुभन्दा एकअर्कामाथि आरोप-प्रत्यारोप गर्न बढी समय खर्चिए । कार्यक्रमको मञ्चमै सुरु भएको कटाक्ष त्यसपछि फेसबुक लाइभ, सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिसम्म फैलियो ।

सांसदको बोली र व्यवहार व्यक्तिगत होइन, त्यसले संसद् र राज्यकै प्रतिष्ठा प्रतिनिधित्व गर्छ तर अचेल त्यस्तो सुनिँदैन ।
हर्कराज राई
संसद्का पूर्वसचिव
शाहीले कार्यक्रममा बोल्दै रास्वपाका सांसद सुनारको नामै लिएर टिप्पणी गरे । उनले विदेशमा रहेका नेपालीका हकहितका विषय उठाउँदा ‘खगेन्द्रजी जस्तो नमस्कार गरेरमात्र होइन, औंला ठड्याएर पनि भन्नुपर्छ’ भन्दै कटाक्ष गरे । त्यसपछि फेसबुक लाइभमा आएका शाही अझ आक्रामक देखिए । उनले आफूविरुद्ध टिप्पणी गर्ने रास्वपा समर्थकलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरे । सहकारी प्रकरण, गाँजा सेवन, विभिन्न समूह र व्यक्तिलाई जोडेर दिएको अभिव्यक्तिमा व्यक्तिगत आक्षेप, गालीगलौज र चुनौती मिसिएको थियो । केही शब्द यति अशोभनीय थिए कि सामाजिक सञ्जालमा प्रसारित भिडियोमा ‘बिप’ राखेरमात्र सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भयो ।
विवाद बढेपछि शाहीले ‘जापानको रक्सी कडा रहेछ’ शीर्षकमा व्यंग्यात्मक स्टाटस लेख्दै आफूले बोलेका शब्दको बचाउ गरे । उनले सहकारी ठगी ग्याङ र अन्य आरोप दोहोर्याउँदै आलोचकहरूलाई चुनौतीपूर्ण शैलीमै जवाफ दिए । उता रास्वपाका सांसद खगेन्द्र सुनार पनि संयमित देखिएनन् । उनले सामाजिक सञ्जालमा लेखे, ‘भारत गएर आधा सिए, जापान गएर आधा पिए, नेपालमा राजाको कुरा, जापान पुगेर गाँजाको कुरा, देख्यौं हैन जापानी तरक, यही हो साथी जाँड खाने र नखानेमा फरक ।’
उनले भिडियोमार्फत पनि शाहीप्रति कटाक्ष गरे । यसले विवाद थप चर्कियो । यद्यपि, जापानकै कार्यक्रममा बोल्दा सुनारले आफू प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेको सन्देश लिएर आएको उल्लेख गर्दै नेपाल जापानी लगानी र सहकार्यका लागि खुला रहेको बताएका थिए । तर, त्यो सकारात्मक सन्देशभन्दा उनीहरूको आपसी विवाद नै सामाजिक सञ्जालमा बढी चर्चाको विषय बन्यो ।
शाहीको फेसबुक लाइभपछि रास्वपाको जापानस्थित प्रवास नेपाली सम्पर्क विभागले औपचारिक विज्ञप्ति नै जारी गर्यो । विभागले सांसद शाहीको अभिव्यक्तिलाई अपमानजनक, असंयमित तथा लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको उल्लेख गर्दै सार्वजनिक रूपमा क्षमा माग्न आग्रह गरेको छ । अन्यथा संवैधानिक र कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।
यो त प्रतिनिधिमूलक घटनामात्रै हो । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले पूर्वसचिव भीम उपाध्यायलाई ‘ढेंडुमुखे’ भन्दै सार्वजनिकरुपमा अपमान गरेका थिए । १७ जेठको संसद् बैठकमा एमाले सांसद रिंगला यादव, कांग्रेस सांसद सन्तोष सुब्बालगायत सभामुखको आसनतिर उफ्रिन खोजेका थिए । असंसदीय भाषा प्रयोग गर्दै आलोचना गर्नु त सामान्य बनिसक्यो ।
संसद्का पूर्वसचिव हर्कराज राई सांसदहरूको अभिव्यक्ति र व्यवहार सांसदको जस्तो हुन छाडेको बताउँछन् । उनी भन्छन्, ‘सांसदको बोली र व्यवहार व्यक्तिगत होइन, त्यसले संसद् र राज्यकै प्रतिष्ठा प्रतिनिधित्व गर्छ तर अचेल त्यस्तो सुनिँदैन ।’ उनका अनुसार दलहरूले आफ्ना सांसदलाई संसद्, सार्वजनिक मञ्च तथा विदेश भ्रमणमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पर्याप्त प्रशिक्षण र अनुशासन लागू नगर्दा यस्तो अवस्था आएको हो ।
सत्तारुढ रास्वपाले आफ्ना सांसदहरूलाई दुईपटक संसदीय मामिलाबारे प्रशिक्षण दिएको छ । संसद्मा कसरी प्रस्तुत हुने र सांसदको अभिव्यक्ति कस्तो हुनुपर्छ ? त्यसबारे रास्वपाले आफ्ना सांसदहरूलाई विज्ञहरूबाट प्रशिक्षण दिलाएको हो । संसद् सचिवालयले पनि गत असारमा सांसदहरूलाई प्रशिक्षण दियो । यद्यपि, सांसदहरूको अभिव्यक्ति र व्यवहारले प्रशिक्षण प्रभावहीन भएको झल्काउँछ ।
संसद्का पूर्वसचिव राईका अनुसार ‘माननीय’ सम्बोधन आफैंमा उच्च नैतिक आचरणको प्रतीक हो । माननीयको व्यवहारले समाजलाई मार्गनिर्देश गर्ने विश्वास गरिन्छ । तर, कतिपय सांसदको व्यवहारले माननीय पदकै मानमर्दन गरिरहेको उनी बताउँछन् ।