काठमाडौं - गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ सार्वजनिक भएसँगै विवादमा परेको छ। मंगलबार रिलिज भएको गीतमा दुईअर्थ दिने शब्दावली प्रयोग गरिएको भन्दै सामाजिक सञ्जाल र युट्युबमा व्यापक आलोचना भइरहेको छ।
गीतका शब्द र संगीत दुर्गेश थापाकै हुन्। गीतमा प्रयोग भएका केही शब्द र अभिव्यक्तिले शिक्षकजस्तो सम्मानित पेशाको गरिमामा आँच पुर्याएको तथा कलाको नाममा अश्लीलता प्रस्तुत गरिएको भन्दै धेरैले असन्तुष्टि जनाएका छन्।
गीत सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूले पनि द्विअर्थी शब्द प्रयोगबारे दुर्गेश र प्रियंकासँग प्रश्न गरेका थिए। त्यसको जवाफमा दुर्गेशले गीत कसरी बुझ्ने भन्ने कुरा श्रोताको सोचमा भर पर्ने बताए। उनले भने, "डर्टी माइन्डले सुने डर्टी नै सुनिन्छ, राम्रो माइन्डले सुने राम्रो नै सुनिन्छ।" उनले गीतमा ‘गणित’को सट्टा ‘म्याथ’ शब्द प्रयोग गर्नुको कारण आफूलाई त्यो शब्द बढी आकर्षक लागेको बताए।
गीतको युट्युब कमेन्ट सेक्सनमा हजारौं प्रतिक्रिया आएका छन्, जसमध्ये धेरैले द्विअर्थी शब्दावलीप्रति आपत्ति जनाएका छन्। कतिपयले ‘मास्टर्नी’ जस्तो सम्मानित पेशालाई यस्ता शब्दसँग जोड्नु उपयुक्त नभएको टिप्पणी गरेका छन्। सञ्चारकर्मी तथा फिल्म निर्देशक प्रकाश सायमीले पनि सामाजिक सञ्जालमार्फत गीतको आलोचना गरेका छन्। उनले गीतका शब्दलाई लिएर उठेको विवाद स्वाभाविक रहेको उल्लेख गर्दै कलाकारले प्रस्तुत गर्ने सामग्रीप्रति अझ जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
युट्युबसँगै फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा पनि गीतले दिने सन्देश, भाषा र नैतिक पक्षबारे बहस भइरहेको छ। समर्थकहरूले यसलाई मनोरञ्जनका रूपमा लिनुपर्ने तर्क गरिरहेका छन् भने आलोचकहरूले सामाजिक जिम्मेवारीको विषय उठाएका छन्।‘मास्टर्नी’ वास्तवमा प्रियंका कार्कीको निर्माणमा बनेको आगामी फिल्म ‘मास्टर्नी’ को प्रचारात्मक गीत हो। यो गीत फिल्ममा समावेश गरिएको छैन।
फिल्मको प्रवर्द्धनका लागि दुर्गेशले उपहारस्वरूप यो गीत तयार पारेका हुन्।फिल्मको प्रचारप्रसार अभियानमा पनि दुर्गेश सहभागी हुनेछन् भने उनले विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिने तयारी छ। ‘दुश्मन हेरेको हेर्यै’पछि दुर्गेश थापा र प्रियंका कार्कीको यो दोस्रो सांगीतिक सहकार्य हो।