Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
समाचार
  • Home
  • समाचार
  • वालेन्द्र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न
दलाई लामाको जन्मोसत्व विवाद वालेन्द्र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, असार २६, २०८३
  • नागार्जुनस्थित नाम्ग्याल विद्यालयमा दलाई लामाको ९१औं जन्मजयन्ती मनाइएको घटना विवादमा 
  • मुलुकको परराष्ट्र नीतिविपरीत जन्मोत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको आलोचना 
  • संसद्मा ‘एक चीन नीति’बारे सरकारसँग जवाफ माग
  • नेपाल-चीन सम्बन्धमा गलत सन्देश जान सक्ने सात जना पूर्वराजदूतको चेतावनी
  • नेपालले आफ्नो भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड

काठमाडौं- काठमाडौंको नागार्जुनस्थित नाम्ग्याल विद्यालयमा १४औं दलाई लामाको ९१औं जन्मजयन्ती मनाइएको घटनालाई लिएर वालेन्द्र शाह नेतृत्वको सरकारमाथि संसद्देखि कूटनीतिक वृत्तसम्म दबाब बढेको छ । उक्त कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूकोसमेत सहभागिता रहेको सार्वजनिक भएपछि सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाइएको हो ।

 

ramesh-kumar-malla-1783660758.jpg

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ कि छैन ? जवाफ चाहियो ।
रमेशकुमार मल्ल
सांसद, नेकपा

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले नेपालले विगतदेखि अवलम्बन गर्दै आएको एक चीन नीतिप्रति सरकार प्रतिबद्ध छ कि छैन भन्ने प्रश्न उठाए । उनले प्रतिनिधिसभाले विगतमा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको चुच्चे नक्सा सर्वसम्मतरूपमा पारित गरेको स्मरण गर्दै वर्तमान सरकारले दिएको सीमासम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुगेको टिप्पणी गरे ।

Hardik health

उनले संसद्मा भने, ‘नेपालले छिमेकीको भूमि मिचेको भन्ने राष्ट्रहितविपरीत अभिव्यक्ति आउँदा ताली बजाउने दृश्य हेर्नुपरेको छ । तर, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ कि छैन ? जवाफ चाहियो ।’ मल्लले नेपालको परराष्ट्र नीतिको आधार स्वतन्त्रता, असंलग्नता, पञ्चशील, सार्वभौमिक समानता तथा सन्तुलित छिमेकी सम्बन्ध भएको उल्लेख गर्दै एक चीन नीति नेपालको राष्ट्रिय सहमति र संवैधानिक प्रतिबद्धतासँग जोडिएको विषय भएको बताए ।

उनका अनुसार पछिल्ला केही घटनाक्रमले सरकार नेपालको स्थापित परराष्ट्र नीतिभन्दा बाहिर जान खोजेको हो कि भन्ने आशंका पैदा गरेको छ । उनले काठमाडौंमा दलाई लामाको जन्मोत्सव आयोजना हुनु, त्यसमा विदेशी कूटनीतिज्ञहरूको सहभागिता रहनु तथा त्यसबारे सरकार मौन देखिनुलाई गम्भीर विषयका रूपमा उठाए ।

 

ain-bahadurmahar-1783661540.jpg
के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा हो ? के सरकारले छिमेकसम्बन्धी परराष्ट्र नीति परिवर्तन गरेको हो ?
ऐन महर
प्रमुख सचेतक, नेकपा एमाले

 

यही विषयलाई लिएर नेकपा एमालेका मुख्य सचेतक ऐन महरले पनि प्रतिनिधिसभामा सरकारसँग स्पष्ट जवाफ मागे । उनले के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा हो ? के सरकारले छिमेक सम्बन्धी परराष्ट्र नीति परिवर्तन गरेको हो ? भन्दै प्रश्न संसद्मा राखे । यसअघि पनि केही सांसदहरूले यही विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

संसद्मामात्र होइन, चीनका लागि नेपालका सात पूर्वराजदूतले समेत संयुक्त वक्तव्य जारी गर्दै सरकारलाई एक चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् । राजेश्वर आचार्य, महेश मास्के, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीद्वारा जारी वक्तव्यमा नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर एक चीन नीति अवलम्बन गर्दै आएको स्मरण गराइएको छ ।

पूर्वराजदूतहरूले यदि उक्त कार्यक्रम सरकारको सहमतिमा भएको हो भने त्यसले नेपाल-चीन सम्बन्धमा गलत सन्देश जान सक्ने चेतावनी दिएका छन् । उनीहरूले नेपालले आफ्नो भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता निरन्तर पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

वक्तव्यमा यस्ता गतिविधिले नेपालले कायम राख्दै आएको भूराजनीतिक सन्तुलन कमजोर बन्न सक्ने तथा राष्ट्रिय हितमा प्रतिकूल असर पर्न सक्ने उल्लेख गरिएको छ । नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत सरकारले अवलम्बन गर्दै आएको स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिबाट विचलन हुन सक्ने आशंका व्यक्त गरेका छन् । श्रेष्ठले दलाई लामासम्बन्धी पछिल्ला गतिविधिलाई सामान्य घटनाका रूपमा लिन नसकिने उल्लेख गर्दै यस्ता घटनाले नेपाल कुनै शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धामा तानिन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनले सरकारले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतालाई कमजोर पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

यसैबीच सामाजिक सञ्जाल र केही राजनीतिक वृत्तमा तिब्बतसँग सम्बन्धित विभिन्न संगठन, नेपालका पछिल्ला राजनीतिक घटनाक्रम तथा दलाई लामाको भूमिकाबारे अनेक दाबी र आरोपहरू सार्वजनिक भइरहेका छन् । तर, ती दाबीहरू स्वतन्त्ररूपमा पुष्टि भएका छैनन् र सम्बन्धित पक्षहरूले पनि ती आरोपहरू स्वीकार गरेका छैनन् ।

सरकारले भने हालसम्म संसद्मा उठेका प्रश्न, पूर्वराजदूतहरूको वक्तव्य तथा विपक्षी दलहरूले उठाएका आशंकाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । यही कारण संसद्देखि कूटनीतिक वृत्तसम्म एउटै प्रश्न उठिरहेको छ कि नेपालले अवलम्बन गर्दै आएको एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धतालाई वालेन्द्र सरकारले यथावत् कायम राखेको छ कि छैन ? अब त्यसको स्पष्ट जवाफ सरकारबाट आउने अपेक्षा गरिएको छ ।

को हुन् दलाई लामा ? 
दलाई लामा तिब्बती बौद्ध धर्मका सर्वोेच्च आध्यात्मिक नेता हुन् । उनी धार्मिक गुरुमात्र होइनन्, तिब्बती जनताको सांस्कृतिक पहिचान र अधिकारको आवाजका रूपमा पनि चिनिन्छन् । वर्तमान दलाई लामा १४औं दलाई लामा हुन् । उनको वास्तविक नाम तेञ्जिन ग्यात्सो हो । उनको जन्म सन् १९३५ जुलाई ६ मा उत्तर-पूर्वी तिब्बतको आम्दो क्षेत्रको टाक्तसेर गाउँमा एक सामान्य किसान परिवारमा भएको थियो । जन्मँदा उनको नाम ल्हामो थोन्दुप राखिएको थियो ।

तिब्बती बौद्ध परम्पराअनुसार उनी दुई वर्षको उमेरमै १३औं दलाई लामाको पुनरअवतारका रूपमा चिनिएका थिए । त्यसपछि उनलाई धार्मिक शिक्षाका लागि ल्हासा लगियो । त्यहाँ उनले बौद्ध दर्शन, तर्कशास्त्र, ध्यान र धर्मशास्त्रको लामो समय अध्ययन गरे ।  दलाई लामा शब्दको अर्थ ज्ञानको महासागर भन्ने हुन्छ । तिब्बती बौद्ध धर्ममा दलाई लामालाई करुणाका बोधिसत्व अवलोकितेश्वरको अवतार मानिन्छ । प्रत्येक दलाई लामा अघिल्लो दलाई लामाकै पुनर्जन्म भएको विश्वास गरिन्छ ।

सन् १९५० मा चीनले तिब्बतमाथि नियन्त्रण विस्तार गरेपछि तिब्बतको राजनीतिक अवस्था बदलियो । त्यसबेला दलाई लामा किशोर अवस्थामा थिए । परिस्थितिका कारण उनले १५ वर्षकै उमेरमा राजनीतिक नेतृत्वको जिम्मेवारी पनि सम्हाल्नुपरेको थियो ।  सन् १९५९ मा चीनविरुद्धको तिब्बती विद्रोह असफल भएपछि दलाई लामा हजारौं अनुयायीसहित भारत पुगे । त्यसयता उनी भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । त्यहीँबाट उनले तिब्बती निर्वासित समुदायको नेतृत्व गर्दै आएका छन् । अर्थात् उनले समानान्तर सरकार चलाइरहेका छन् । त्यही भएर धर्मशालालाई अहिले तिब्बती निर्वासित समुदायको प्रमुख केन्द्र मानिन्छ । त्यहाँ निर्वासित प्रशासन, धार्मिक संस्था र सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।

दलाई लामाले लामो समयसम्म तिब्बतको राजनीतिक नेतृत्व पनि सम्हाले । तर, सन् २०११ मा उनले राजनीतिक अधिकार निर्वाचित तिब्बती नेतृत्वलाई हस्तान्तरण गरे । त्यसपछि उनी पूर्णरूपमा आध्यात्मिक भूमिकामा केन्द्रित भएका छन् । खासगरी पश्चिमा समुदायले लामालाई विश्वभर शान्ति, करुणा, सहिष्णुता, अन्तरधार्मिक सद्भाव र मानव मूल्यको प्रवद्र्धनका लागि चिन्छन् । र, उनलाई सन् १९८९ मा शान्तिका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो । तिब्बतको प्रश्नमा अहिंसात्मक संघर्ष र विश्व शान्तिप्रतिको योगदानको सम्मानस्वरूप उनलाई उक्त पुरस्कार दिइएको थियो ।

दलाई लामाले हिंसाको सधैँ विरोध गरेका छन् । चीनसँगको विवाद समाधान संवाद र अहिंसामार्फत हुनुपर्ने उनको धारणा रहँदै आएको छ । यद्यपि, चीनले भने उनलाई पृथकतावादी नेताका रूपमा चित्रण गर्दै आएको छ । बेइजिङले तिब्बत चीनको अभिन्न अंग भएको दाबी गर्छ । दलाई लामाले भने वास्तविक स्वायत्तताको पक्षमा आवाज उठाउँदै आएका छन् ।

हाल दलाई लामाको उत्तराधिकारी को हुने भन्ने विषय फेरि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा छ । उनले आफ्नो पुनरअवतार परम्पराअनुसार नै हुने र त्यसको पहिचान गर्ने अधिकार गादेन फोड्राङ ट्रस्टसँग मात्रै रहने स्पष्ट गरिसकेका छन् । यसको ठीक विपरीत चीनले दलाई लामाको पुनरअवतारलाई आफ्नो कानुनी प्रक्रियाअनुसार स्वीकृत गरिनुपर्ने बताउँदै आएको छ । यही विषय भविष्यमा चीन र तिब्बती निर्वासित समुदायबीचको प्रमुख विवाद बन्ने अनुमान गरिएको छ ।

तिब्बती परम्पराअनुसार नयाँ दलाई लामाको खोजी निकै जटिल प्रक्रिया हो । उच्च तहका लामाहरूले विभिन्न धार्मिक संकेत, दर्शन, सपना तथा अन्य परम्परागत विधिका आधारमा पुनर्जन्म लिएको बालकको खोजी गर्छन् । त्यसपछि लामो परीक्षण र धार्मिक शिक्षापछि मात्रै नयाँ दलाई लामालाई औपचारिक मान्यता दिइन्छ ।

दलाई लामाले आफूलाई प्रायः साधारण बौद्ध भिक्षु भनेर चिनाउने गर्छन् । तर, विश्वभर उनका करोडौं अनुयायी छन् । उनले दर्जनौं पुस्तक लेखेका छन् । शिक्षा, विज्ञान, वातावरण संरक्षण, मानसिक स्वास्थ्य र नैतिकताका विषयमा पनि उनले निरन्तर विचार राख्दै आएका छन् । विश्वका धेरै राष्ट्र प्रमुख, धार्मिक अगुवा, वैज्ञानिक तथा शिक्षाविद्सँग उनले संवाद गरेका छन् । विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिसमेत प्रदान गरेका छन् ।

९१ औं जन्मजयन्ती मनाइसकेका दलाई लामा अझै पनि सार्वजनिक कार्यक्रम, धार्मिक प्रवचन र विश्व शान्तिसम्बन्धी गतिविधिमा सक्रिय देखिन्छन् । उनका अनुयायीहरूले उनलाई तिब्बती पहिचान, करुणा र अहिंसाको सबैभन्दा ठूलो प्रतीक मान्छन् ।
 


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन
आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी
अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी शुक्रबार, असार २६, २०८३
आत्मदाह प्रयास गरेकोबारे सोधपुछका लागि महानगर प्रहरीलाई बाेलाइयाे  भद्रकाली
आत्मदाह प्रयास गरेकोबारे सोधपुछका लागि महानगर प्रहरीलाई बाेलाइयाे भद्रकाली शुक्रबार, असार २६, २०८३
युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन
युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन शुक्रबार, असार २६, २०८३
प्रतिनिधिसभा बैठक  एक बजे बस्दै
प्रतिनिधिसभा बैठक एक बजे बस्दै शुक्रबार, असार २६, २०८३
राष्ट्रियसभा बैठकमा  माैखिक उत्तर दिने कार्यसूची
राष्ट्रियसभा बैठकमा माैखिक उत्तर दिने कार्यसूची शुक्रबार, असार २६, २०८३
घाइते नेपालीको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक : वीर अस्पताल
घाइते नेपालीको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक : वीर अस्पताल शुक्रबार, असार २६, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
सीपयुक्त श्रमिकलाई म्यानपावर कम्पनीमार्फत कोरिया जाने अवसर
सीपयुक्त श्रमिकलाई म्यानपावर कम्पनीमार्फत कोरिया जाने अवसर
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP