रौतहट - रौतहटको कटहरिया नगरपालिकाले १२औं नगरसभा सम्पन्न गरेकाे छ । रौतहटको कटहरिया नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट पारित गर्दै सोमबार १२औं नगरसभा सम्पन्न गरेकाे हाे ।
नगरसभाबाट पारित बजेटमा विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको हाे। पारित बजेटअनुसार पुँजीगत खर्चतर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ तथा चालु खर्चतर्फ ३३ करोड ८८ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षमा नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने विकास आयोजनाहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ। नगर प्रमुख अजय प्रकाश जैसवालले नगरसभामा बजेट प्रस्तुत गर्दै आगामी वर्ष नगरको समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने,'नगरवासीको जीवनस्तर उकास्ने, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि उत्पादन वृद्धि, युवाहरूको सीप तथा क्षमता विकास, महिला सशक्तीकरण तथा पूर्वाधार विस्तारलाई बजेटको मुख्य उद्देश्य बनाइएको छ ।'

नगर प्रमुख जैसवालले विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नगरवासीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिने विश्वास व्यक्त गरे । तर नगरसभा भने पूर्ण रूपमा सर्वसम्मत हुन सकेन। बजेट वितरणमा विभेद भएको आरोप लगाउँदै वडा नं. १, २, ४, ६ र ९ का वडाध्यक्षहरूले नगरसभा बहिष्कार गरेका छन्। उनीहरूले पाँच वडाको विकास बजेटमा अन्यायपूर्ण कटौती गरिएको तथा पक्षपातपूर्ण ढंगले बजेट बाँडफाँट गरिएको आरोप लगाएका छन्।
बहिष्कारमा सहभागी वडाध्यक्षहरूले नगरपालिकाको मूल गेटमा विरोध प्रदर्शन गर्दै प्रमुख प्रशासकीय अधिकृत रामबिनय सिंहलाई नगरसभा बदर गर्न मागसहित ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले बजेट वितरणमा समानता कायम नगरेसम्म नगरसभाको निर्णय स्वीकार नगर्ने र आवश्यक परे कानुनी उपचारका लागि अदालतसम्म जाने चेतावनी दिएका छन्।विरोधमा उत्रिएका जनप्रतिनिधिहरूले सबै वडालाई समान विकासको अवसर उपलब्ध गराउनुपर्ने, राजनीतिक पूर्वाग्रहका आधारमा बजेट विनियोजन गर्न नहुने तथा बजेट निर्माण प्रक्रियालाई थप पारदर्शी र सहभागितामूलक बनाउनुपर्ने माग गरेका छन्।
यद्यपि नगरपालिकाले भने बजेट आवश्यकताको आधारमा विनियोजन गरिएको र नगरको समग्र हितलाई केन्द्रमा राखेर योजना छनोट गरिएको जनाएको छ। नगरसभामा नगरपालिकाकी उपप्रमुख रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत रामबिनय सिंह, लेखापाल कामेश्वर सहनी, नगरसभा सदस्य, विभिन्न शाखाका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरसभाबाट पारित बजेट कार्यान्वयनसँगै कटहरिया नगरपालिकामा विकास निर्माणका कार्यक्रमले गति लिने अपेक्षा गरिएको भए पनि बजेट वितरणलाई लिएर देखिएको विवादले आगामी दिनमा स्थानीय राजनीतिक तथा प्रशासनिक गतिविधिलाई थप प्रभावित पार्ने देखिएको छ।