मैले हाम्रो तर्फबाट १११ जना केन्द्रीय सदस्यमा समायोजन हुनुपर्छ भनेको हुँ । लिखितरुपमै यो माग दिएको हुँ ।
पूर्णबहादुर खड्का
पूर्वउपसभापति
- पूर्वउपसभापति खड्काको माग गगनले गरे ठाडै अस्वीकार
काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले आफूलाई सभापति गगन थापाले वरिष्ठ नेता बनाउने वचन दिएको बताएका छन् । सोमबार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेपछि खड्काले यस्तो बताएका हुन् ।
आफू र डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने वचन दिए पनि अरु नेता कार्याकर्तालाई समायोजन गर्ने कुरा नगरेपछि आफू पछाडि हटेको खड्काले बताए । ‘मलाई र डा. शेखर कोइरालालाई वरिष्ठ नेता दिने पक्कापक्की थियो । तर अरु साथीहरुलाई समायोजन गर्ने कुरामा केही खाका आएन । अरु नेता र कार्यकर्ताको बिचल्ली बनाएर जाने कुरा मैले मानिनँ,’ कार्यालय उद्घाटनअघि खड्काले आफूनिकट नेता कार्याकर्तासँग भने ।
१४औं महाधिवेशनबाट आएका १०० जना जति नेतालाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा मिसाऔं भन्ने कुरा रहेछ, यो काम पनि म गर्न सक्दिनँ । यो व्यावहारिक र आवश्यक छैन
गगन थापा
सभापति, नेपाली कांग्रेस
खड्काले आफू पक्षका १११ जना नेता कार्याकर्तालाई केन्द्रीय समितिमा समायोजन गर्न माग गरेको बताए । उक्त माग उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा भएको उल्लेख गर्दै खड्काले भेटको भोलिपल्ट कुनै खबर नगरी शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक भएको खबरले आफू अचम्ममा परेको बताए । ‘मैले हाम्रो तर्फबाट १११ जना केन्द्रीय सदस्यमा समायोजन हुनुपर्छ भनेको हुँ । लिखितरुपमै उपसभापति शर्मालाई दिएको छु,’ खड्काले भने, ‘महामन्त्री प्रदीप पौडेलबाट शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक भनेर समाचार आए । त्यसपछि मलाई देशभरबाट फोन आयो । आफ्नो अद्यावधिक हुने, हाम्रो नहुने भनेर, मैले समाचारको खण्डन गर्नुपर्यो ।’
असोज १६ बाट काठमाडौंमा १५औं महाधिवेशन तय भएसँगै शेरबहादुर देउवापक्षले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको हो । सम्पर्क कार्यालय उद्घाटनामा डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महतलगायत नेताहरु सहभागी थिए । योसँगै देउवा पक्षीय नेताहरुले साउन ६ गते बिपी जयन्तीको अवसर पारी राष्ट्रिय भेला आयोजनाको तयारी गरेको छ ।
गगनले गरे ठाडै अस्वीकार
संस्थापनइतरले चुनदेवीमा सम्पर्क कार्यालय खोलेकै दिन सभापति थापाले भने इतर समूहका मागलाई ठाडै अस्वीकार गरेका छन् । नेपाली सम्पर्क समिति जापानको सातौं अधिवेशनलाई ‘भर्चुअल’ रुपमा उद्घाटन गर्दै विधानविपरीत हुनेगरी आएको दुई प्रस्तावलाई स्वीकार गर्न नसक्ने बताएका हुन् ।
अहिलेको अवस्थामा केन्द्रीय सदस्य भएर कुनै विशेष अधिकार नहुने थापाको भनाइ थियो । ‘१४औं महाधिवेशनबाट आएका १०० जना जति नेताहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा मिसाऔं भन्ने कुरा रहेछ, यो काम पनि म गर्न सक्दिनँ । यो व्यावहारिक र आवश्यक छैन । किनभने केन्द्रीय सदस्य भएर विशेष अधिकार अब केही प्राप्त हुँदैन, केन्द्रीय सदस्य र पदाधिकारी पनि अब वडाबाटै चुनिएर महाधिवेशनमा आउने हो,’ थापाले भने ।
सभापति थापाले क्रियाशील अद्यावधिकको विषय पनि रोक्न नसकिने बताए । ‘क्रियाशील अद्यावधिक नगरौं भन्नुहुन्छ भने त्यो अब मिल्दैन । विधानले पनि मिल्दैन । अराजनीतिक पनि हुन्छ, यसलाई इगोको विषय नबनाऔं, यो सम्भव छैन,’ थापाले भने । नेताहरुलाई निर्वाचन समिति, अनुशासन समितिमा भने समायोजन गर्न सकिने थापाको भनाइ थियो । ‘केही नेताहरु असन्तुष्ट हुनुहुन्छ तर संवादबाट नै उहाँहरु १५औं महाधिवेशनमा जाने वातावरण बन्छ भन्ने मलाई लाग्छ । महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउन के-के गर्नुपर्ने हो त्यो गर्न म तयार छु । अधिवेशन तिथिमितिबारे छलफल गर्न तयार छु । सदस्यता, निर्वाचन र अनुशासन समितिमा को–को राख्दा अधिवेशन निष्पक्ष हुन्छ भन्ने लाग्छ ल भन्नुस्,’ सभापति थापाले भने ।
गत पुस मसान्तमा भएको विशेष महाधिवेशन भने देउवापक्षका नेताहरुले बहिस्कार गरेका थिए । पछि निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि देउवापक्षका कतिपय नेता सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा सहभागी भए । सर्वोच्च अदालतलेसमेत विशेष महाधिवेशनबारे आयोगको निर्णयलाई नै निरन्तरता दिएपछि देउवापक्ष कांग्रेस मूलधारबाट बाहिरिएको थियो । अहिले कांग्रेस नेताहरु एक हुनुपर्ने भन्दै शक्ति प्रदर्शनमा लाग्दा सभापति थापाले भने संस्थापनइतरलाई तितरबितर पार्न थालेका छन् ।