पुस १० भित्र टुंग्याइएको थियो, गगन थापा महामन्त्री हुँदा नै । अहिले डिजिटल इन्ट्री गर्ने भनेको ठीक छ तर पुरानालाई निरन्तरता पनि दिउँ । अद्यावधिकलाई मात्र महाधिवेशनसमा भाग लिन दिने भन्ने ठीक हुँदैन । यसले पार्टीलाई एकता हुन दिन्न । पार्टी झनै कमजोर बन्छ ।
मीन विश्वकर्मा
संस्थापनइतरका नेता
- वर्षालाई कारण देखाउँदै क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय चौथोपटक थपियो
- शेरबहादुर देउवासहितका संस्थापनइतका नेताहरुले देखाएनन क्रियाशील सदस्यता अद्यावधिकमा चासो
- क्रियाशील अद्यावधिक छाडेर महाधिवेशन लक्षित राष्ट्रिय भेला आयोजना गर्ने तयारी
- आगामी असोज १६ मा काठमाडौंमा १५औं महाधिवेशनको तयारी
काठमाडौं- चैत २५ गते जनकपुरधाम पुगेर कांग्रेसका पुराना क्रियाशील सदस्यता सबै खारेज भएको घोषणा गरेका थिए सभापति गगन थापाले । उनै सभापति थापाले असार ९ गते झापा पुगेर क्रियाशील अद्यावधिक नगर्नेलाई नचिन्ने अभिव्यक्ति दिए ।
१५औं महाधिवेशन नजिकिएकोले अब छिटोभन्दा छिटो क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्नेतिर लक्षित गर्दै थापाले भनेका थिए, ‘अद्यावधिक नभएको कोही पनि साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यका रूपमा चिन्दैन । अब मैले के गर्ने ? मैले व्यक्तिगतरूपमा चिन्छु, जय नेपाल भन्छु तर अब सिस्टमले नै चिन्दैन, भोट हाल्ने बेला नाम वडामा आउँदैन ।’
थापाले पटक-पटक क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गर्दा पनि कांग्रेस कर्याकर्तामा जोश देखिँदैन । संस्थापनइतरका नेता कर्याकर्ता क्रियाशील अद्यावधिकको पक्षमा नदेखिँदा कांग्रेसले गत जेठ २१ भित्र अनिवार्यरुपमा डिजिटल्ली क्रियाशील आद्यवधिक गरिसक्न निर्देशन दिएकोमा पटक-पटक म्याद थप्न बाध्य बनेको छ ।
कांग्रेसले आइतबारमात्र साउन ३ सम्मका लागि यो समय थप गरेको छ । वर्षालाई कारण देखाउँदै क्रियाशील सदस्यता अद्यावधिक गर्न समय थप गरिएको कांग्रेसले जनाएको छ । ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम वितरण तथा अनलाइन माध्यमबाट नयाँ क्रियाशील सदस्यताको विवरण पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि निर्धारित समयावधि २०८३ असार २० गतेसम्म कायम गरिएको थियो ।
तर, वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, साथै अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्यसमेत जारी रहेकाले सम्बन्धित जिल्लामा खटिनुभएका केन्द्रीय प्रतिनिधिहरूबाट प्राप्त सुझावका आधारमा उक्त समयावधि २०८३ साउन ३ गतेसम्मका लागि थप गरिएको छ,’ आइतबार पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
थापा सभापति भएपछि १५ औं महाधिवेशन गर्न क्रियाशील सदस्यता नवीकरण र अद्यावधिकको समय थप गरेको यो चौथोपटक हो । यसअघि गत वैशाख १ गते नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले जेठ २१ गतेसम्मको समय दिइएको थियो । जेठ २१ गतेसम्ममा अद्यावधिकको संख्या न्यून भएपछि पुनः एक हप्ताका लागि भन्दै यो समितिले जेठ २८ गते सम्म समय थप गरिएको थियो । महामन्त्री प्रदीप पौडेल संयोजक रहेको उक्त समितिले जेठ ३० गते पुनः असार ३० गतेसम्मका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप ग¥यो ।
उक्त समितिले छ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको जनाएको थियो । उक्त समयावधिमा पनि क्रियाशील सदस्यता अद्यावधिक गर्न जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । यो बीचमा पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको संस्थापनइतरले शुक्रबारमात्र भेला राखेर सभापति थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उक्त समूहका नेता मीन विश्वकर्माले गत पुस १० गते थापा महामन्त्री भएको बेला क्रियाशील सदस्यताको टुंगो लागिसकेको र यसैले निरन्तरता नपाए एकता नहुने बताए । ‘पुस १० भित्र टुंग्याइएको थियो गगन थापा महामन्त्री हुँदा नै । अहिले डिजिटल इन्ट्री गर्ने भनेको ठीक छ तर पुरानालाई निरन्तरता पनि दिउँ । अद्यावधिकलाई मात्र महाधिवेशनसमा भाग लिन दिने भन्ने ठीक हुँदैन,’ विश्वकर्माले भने, ‘यसले पार्टीलाई एकता हुन दिन्न । पार्टी झनै कमजोर बन्छ ।’
२०७८ मा १४औं महाधिवेशन गर्दा कांग्रेसमा आठ लाख ८२ हजार ८१६ जना क्रियाशील सदस्य कायम थिए । तीमध्ये गत पुसमा करिब छ लाखलेमात्रै नवीकरण गरेका थिए । कांग्रेसले १० लाख जनालाई क्रियाशील सदस्य बनाउने नीतिसमेत लिएको थियो ।
महाधिवेशन प्रविधिमैत्री बनाउने तयारी
कांग्रेसले १५औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा इभिएम (इलेक्ट्रोनिक भोटिङ मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ । आइतबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको निर्वाचन समितिको बैठकले महाधिवेशन तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र व्यवस्थितरूपमा सम्पन्न गर्ने लक्ष्यसहित विभिन्न निर्णय गरेको सदस्यसचिव कटुवालले बताए । बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन गर्दै सकेसम्म पेपरलेस प्रणाली अपनाउने तथा इभिएम प्रविधिको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
‘निर्वाचन कार्यमा स्वयंसेवकका रूपमा कानुन व्यवसायी तथा अन्य पेसागत समूहलाई सहभागी गराई रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण (ओरिएन्टेसन) प्रदान गरी आवश्यकताअनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ । साथै, निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन अर्थात पेपरलेस प्रविधि वा इभिएम प्रविधिलाई प्राथमिकताका साथ अगाडी वढाउने निर्णय गर्दछ,’ निर्वाचन समितिले भनेको छ ।
त्यस्तै, निर्वाचन प्रक्रिया सुरु भएपछि निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने भएकाले विधानमा अन्यथा उल्लेख भएकाबाहेक निर्वाचन अवधिभर केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायलाई आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह गर्ने निर्णय पनि गरिएको छ ।