- २१ देखि २३ मंसिरमा महाधिवेशन गर्ने तयारीमा रहेको देउवा पक्षले भृकुटीमण्डप बुक गर्दै
- एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २१ जिल्लामा अधिवेशन सकिएको निर्वाचन समितिको दाबी
काठमाडौं– आधिकारिता दाबी गर्दै नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औं महाधिवेशनको समानान्तर गतिविधि अघि बढाएको छ। संस्थापन समूहले महाधिवेशन सुरु गर्नुअघि निकै तामझाम गरे पनि अहिले भने देउवा समूहको महाधिवेशन गतिविधिले गति लिन सकेको छैन।
देउवा समूहका निर्वाचन समितिका संयोजक एगराज पोखरेलले भने मंगलबार साँझसम्म देशभर २१ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको दाबी गरे। ‘२१ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। अरुमा पनि धमाधम जिल्ला अधिवेशन सुरु हुँदै छ,’ संयोजक पोखरेलले प्रभावसँग भने।
देउवा समूहको कार्यतालिकामा आइतबार अर्थात् कात्तिक १५ गते देशभर जिल्ला अधिवेशन तोकेको छ। क्षेत्रीय अधिवेशन भने दसैंअघि नै असोज २३ गतेसम्म गर्ने भनिएको थियो। यद्यपि कतिपय स्थानमा वडा अधिवेशनसमेत हुन सकेको छैन। यी स्थानमा आइतबारसम्ममा अधिवेशन सक्ने संयोजक पोखरेल बताउँछन्। ‘आइतबार जिल्ला अधिवेशन हो। आइतबार साँझ हामी रिलिज पनि जारी गर्छौं। उक्त दिन नसके १७ गतेसम्म जान सक्छ,’ पोखरेलले भने। देउवा समूहमा कार्याकर्ताको आकर्षण नदेखिँदा नेतृत्व चयन गुपचुप र निर्विरोध भइरहेको देखिएको नेताहरु बताउँछन्।
कहाँ को भए जिल्ला सभापति ?
बैतडीको जिल्ला सभापति वीरबहादुर विष्ट चयन भएका छन्। विष्ट कांग्रेस सभापति गगन थापानिकट पात्र हुन्। संखुवासभामा रामकुमार जिसी, डोल्पामा देउप्रसाद बुढा, डोटीमा विजय खड्का जिल्ला सभापति चयन भएका छन्। हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलकबहादुर मल्ल चयन भएका छन्।
उता कालीकोटमा नरेन्द्र विष्ट जिल्ला सभापतिमा चयन भएका छन्। विष्ट नरहरिनाथ गाउँपालिककाका अध्यक्ष हुन्।
रुकुम पश्चिममा नन्दबहादुर विष्ट चयन सभापतिमा चयन भएका छन्। मंगलबार रोल्पामा भएको अधिवेशनबाट मानबहादुर खत्री सभापतिमा सर्वसम्मत चयन भएका छन्। थप ११ सभापतिको नाम निर्वाचन समितिले सार्वजनिक गरेको छैन।
कहाँ–कहाँ सकियो अधिवेशन ?
देउवा समूहको निर्वाचन समितिले दिएको जानकारीअनुसार छ हजार १०७ वडा तहको अधिवेशन सकिएको छ। ७५३ स्थानीय तहमध्ये ४८० पालिकाको अधिवेशन सम्पन्न भएको छ। १७० प्रदेशसभा निर्वाचन क्षेत्र र ८५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको पनि अधिवेशन सम्पन्न भएको छ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा १३७ पालिका मध्ये ८९ पालिका, ५६ मध्ये ३४ प्रदेशसभा निर्वाचन क्षेत्र, २८ मध्ये १७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ।
त्यस्तै, मधेस प्रदेशका १३६ पालिकामध्ये ५४ पालिकामा अधिवेशन सम्पन्न भएको छ। यसबाहेक प्रदेशअन्तर्गत ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २६ तथा ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १३ क्षेत्रमा अधिवेशन भएको छ।
त्यस्तै, ११९ पालिका रहेको बागमतीमा ५५ वटामा अधिवेशन सम्पन्न भएको छ। ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४० तथा ३३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २० वटामा अधिवेशन भएको छ।
उता, ८५ स्थानीय तह रहेको गण्डकी प्रदेशभित्र ३५ वटामा पालिका अधिवेशन भएको छ। प्रदेशको ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १३ वटामा अधिवेशन सम्पन्न भएको छ। १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सात वटामा अधिवेशन सम्पन्न भएको छ।
त्यस्तै, १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा ८६ वटामा अधिवेशन सकिएको छ। ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २४ वटामा अधिवेशन सकिएको छ भने २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १२ मा अधिवेशन सकिएको छ।
कर्णालीका १० मध्ये चार जिल्लामा अधिवेशन सम्पन्न भएको छ। ७९ स्थानीय तहमध्येमध्ये ५५ वटामा पालिका अधिवेशन सकिएको छ। २४ प्रदेशसभा क्षेत्रमध्ये १४ मा, १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सातमा अधिवेशन सकिएको छ।
देउवाको गृहप्रदेश सुदूरपश्चिममा भने दुईवटा जिल्लामा अधिवेशन सकिएको छ। प्रदेशमा ८८ मध्ये ६६ पालिका, ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १८ मा, १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नौ वटामा अधिवेशन सकिएको छ।
महाधिवेशन भृकुटीमण्डपमै
देउवा समूहले महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमै गर्ने तयारी गरेको छ। ‘महाधिवेशन भृकुटीमण्डपमै हुन्छ। यसका लागि यो हप्तामै बुकिङ गर्ने तयारी छ,’ संयोजक पोखरेलले भने।
यसअघि असोज १६ देखि संस्थापनले भृकुटीमण्डप, खुल्लामञ्च र राष्ट्रिय सभागृहमा १५औं महाधिवेशन गरी गगन थापालाई सभापतिमा निर्वाचित गरिसकेको छ। यो कार्यसमितिले भोलि बिहीबार सानेपामा शपथ लिँदै छ।
देउवा समूहको भने १५ कात्तिकमा जिल्ला अधिवेशन र चार मंसिरमा प्रदेश अधिवेशन गरेर २१ देखि २३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तालिका छ।