काठमाडौं- आइतबारदेखि ‘गोकर्णेश्वर फार्मर्स मार्केट’ सञ्चालनमा आएको छ। गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको खुला व्यायामशाला तथा बालबालिका पार्कमा आइतबारदेखि ‘गोकर्णेश्वर फार्मर्स मार्केट’ सञ्चालनमा आएको हाे।
स्थानीय कृषक तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मार्केट सञ्चालन गर्न लागिएको वडा नं. ९ का अध्यक्ष राधिव थापाले जानकारी दिए। मार्केटमा स्थानीय कृषकले उत्पादन गरेका ताजा तरकारी तथा कृषि उपज, बेकरी तथा पेस्ट्रीका परिकार, परम्परागत हस्तकलाका सामग्री तथा अन्य विभिन्न स्थानीय खाद्य परिकार उपलब्ध हुनेछन्।
अध्यक्ष थापाले स्थानीय उत्पादनको प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्न सबैलाई फार्मर्स मार्केटको अवलोकन तथा खरिदमा सहभागी हुन आग्रह गरेका छन्। फार्मर्स मार्केट हरेक आइतबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ। चिसो मौसममा भने आवश्यकताअनुसार सञ्चालन समय परिवर्तन गरिने जनाइएको छ।