काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि ६ महिनादेखि जारी आन्तरिक विवादमा संस्थापनइतर पक्ष लचक हुने देखिएको छ । पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै संस्थापनइतर पक्ष आफ्ना केही अडानमा लचक हुने अवस्थामा पुगेको हो ।
तर, के के एजेन्डामा लचक हुने भन्ने खुलाइएको छैन । बुधबार नेता विमलेन्द्र निधिको निवास थापागाउँमा नेताहरू डा. शशांक कोइराला र प्रकाशमान सिंह पुगेका थिए । त्रय नेताको छलफलमा पार्टी एकताका लागि लचक हुने समझदारी भएको सिंहनिकट एक नेताले बताए । ‘केन्द्रीय सदस्य १११ जना बनाउनुपर्ने जस्ता एजेन्डा हाम्रा छन् । विधानको केही प्रावधान निलम्बन गरेर भए पनि हाम्रो पक्षलाई सम्बोधन गर्नुपर्छ भनेका छौँ, क्रियाशील सदस्यता नवीकरणसँगै अन्य विषयमा राख्दै आएको अडानमा हामी लचक हुने भनेका हाैँ,’ ती नेताले बताए ।
आज (शुक्रबार) नेता पूर्णबहादुरको निवासमा इतरपक्षको बैठक बस्दै छ । बैठकमा पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, संस्थापन पक्षसँग भइरहेको संवाद, १५औँ महाधिवेशनको तयारी तथा एकताको आधार तयार गर्ने विषयमा विस्तृत छलफल हुने जनाइएको छ । इतर पक्षका नेताहरूका अनुसार अब टकरावलाई लम्ब्याउनेभन्दा पनि वार्तामार्फत साझा निष्कर्षमा पुग्ने वातावरण बनाउनुपर्ने आवश्यकता महसुस गरिएको छ ।
पछिल्ला केही सातादेखि संस्थापन र इतर पक्षबीच प्रस्ताव र प्रत्युत्तर आदान–प्रदान भइरहेको छ । दुवै पक्षले आफ्ना धारणा लिखित रूपमा साटासाट गरिसकेका छन् । त्यसपछि संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरेले इतर पक्षका नेता पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै भेटवार्ता गरेर सहमतिको सम्भावना खोजेका थिए । ती भेटवार्तापछि संवाद सकारात्मक दिशातर्फ अघि बढेको दुवै पक्षका नेताहरूको भनाइ छ ।
इतर पक्षले यसअघि विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाउँदै आएको थियो । तर सर्वोेच्च अदालतबाट विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले वैधानिकता पाएपछि इतर पक्षले आफ्नो रणनीति परिवर्तन गरेको देखिन्छ । अहिले उनीहरूको मुख्य जोड आगामी महाधिवेशनको निष्पक्षता, सदस्यताको व्यवस्थापन र पार्टीभित्र सम्मानजनक राजनीतिक सहभागितामा केन्द्रित भएको छ ।
इतर पक्षले संस्थापनसँगको वार्तामा १४औँ महाधिवेशनबाट निर्वाचित भएर बाहिर रहेका १११ जना केन्द्रीय सदस्यलाई समायोजन गर्नुपर्ने, महाधिवेशनसँग सम्बन्धित सबै समितिमा प्रतिनिधित्व दिनुपर्ने तथा सदस्यता अद्यावधिक गरेका सबैलाई महाधिवेशनमा सहभागी हुन दिनुपर्ने प्रस्ताव अघि सारेको छ । संस्थापन पक्षले भने विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउने प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे पनि समायोजनका विषयमा संवाद जारी राखेको छ ।
महामन्त्री घिमिरेले पनि दुवै पक्ष पार्टी एकताको पक्षमा रहेको बताएका छन् । उनका अनुसार अहिलेको राजनीतिक परिस्थितिले कांग्रेसलाई विभाजित भएर होइन, एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश दिएको छ । घिमिरेले भनेका छन्, ‘सम्भावित चुनौती धेरै छन् । प्रदेश र स्थानीय तहको निर्वाचन आउँदै छ । त्यसको सामना गर्न पार्टी एक हुनैपर्छ भन्नेमा सबै नेताहरूको समान धारणा छ। अब संवादबाटै सहमतिको बाटो खोजिन्छ ।’
यद्यपि उनले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउने गरी आउने प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । यता इतर पक्षभित्र पनि पार्टी विभाजनको विकल्प कमजोर बन्दै गएको देखिन्छ । इतर पक्षभित्र एकताको पक्षमा वातावरण बन्दै गएको अर्को संकेत पूर्वसहमहामन्त्री किशोरसिंह राठोरको अभिव्यक्तिलाई पनि मानिएको छ । लुम्बिनी प्रदेशस्तरीय भेलामा उनले कांग्रेस नछाड्ने स्पष्ट घोषणा गरेका थिए । उनले भनेका थिए, ‘म कांग्रेस छोड्नेवाला छैन । चारतारे झण्डा र रूख चिह्न छाड्ने पक्षमा म छैन । पार्टीभित्र फरक मत हुन सक्छ, तर भित्रै बसेर लड्नुपर्छ ।’
यही कारण अहिले इतर पक्षभित्र पनि संघर्षभन्दा सहमतिमार्फत अघि बढ्ने मत बलियो हुँदै गएको नेताहरू बताउँछन् । यद्यपि वार्ता जारी रहेकै बेला इतर पक्षले आफ्ना संगठनात्मक गतिविधिलाई पनि निरन्तरता दिएको छ । काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयबाट महाधिवेशन लक्षित छलफल, भेटघाट र समन्वयका गतिविधि सञ्चालन गरिने नेताहरूले बताएका छन् । नेता प्रकाशशरण महतले भनेका छन् ‘हाम्रो नियमित सम्पर्क गर्ने ठाउँ थिएन । त्यसैले सम्पर्क कार्यालय खोलेका हौं । अब त्यहीँ बसेर छलफल र महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउँछौंँ ।’
इतर पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ । अब काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी पनि भइरहेको छ । यद्यपि नेताहरूका अनुसार राष्ट्रिय भेलाको उद्देश्य पार्टी विभाजन होइन, संस्थापन पक्षसँग सहमतिको वातावरण बनाउन दबाब सिर्जना गर्नु हो ।