जनकपुरधाम - बजेट संशोधनको माग गर्दै विपक्षी दलले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदनकाे बैठक अवरुद्ध गरेका हुन् ।
बैठकको सुरुमै जनमतका सांसद संजयकुमार यादवले सरकारले एक करोडको बजेट ल्याउने नाममा टुक्रे योजनाहरू भएको बजेट ल्याएर संघीयतामाथि झन् वितृष्णा बढाउन खोजेको आरोप लगाएका छन् । उनले बजेट संशोधन नभएसम्म प्रतिपक्षी दुबै दलले सदन चल्न नदिने अडान लिएका छन् ।
यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन हुनुपर्ने वा छानविन समिति गठन गरे मात्र सदन चल्न दिने बताए । प्रतिपक्षीले सदन अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले अनिश्चित समयका लागि बैठक स्थागित गरेका छन् ।
उनले अर्को सूचना नहुञ्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । यसअघि बुधबार पनि बजेटमाथि छलफलको लागि बसेको बैठक दुई दलको अवरोधका कारण १० मिनेटको लागि स्थगित गरिएको थियो ।