काठमाडौं - सात कारोबार दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार ६ महिनायताकै न्यून बिन्दुमा झरेको छ। लगातारको गिरावटसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.६३ अंकले घटेर २६०८ अंकमा कायम भएको हो। यो स्तर गत पुस ९ यताकै सबैभन्दा न्यून हो। पुस ९ गते नेप्से २५८५ अंकमा रहेको थियो।
गत साताका पाँचै कारोबार दिन बजार घटेको थियो भने यो साताको सुरुआती दुई दिन पनि गिरावट कायम रह्यो। सोमबार नेप्से १६.५४ अंकले घटेको थियो। यसअघि गत साताको सोमबार १.४६, मंगलबार २६.१७, बुधबार १४.४६, बिहीबार ८.५० र शुक्रबार २ अंकले बजार ओरालो लागेको थियो।
मंगलबार दिनभर बजारमा बिक्री दबाब देखिँदा अधिकांश समय नेप्से रातो अंकमै कारोबार भयो। यद्यपि कारोबार रकम भने बढेको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार भएका सबै उपसमूहका परिसूचक ओरालो लागेका छन्। बैंकिङ ०.७३ प्रतिशत, विकास बैंक ०.०१, फाइनान्स १ प्रतिशत, होटल तथा पर्यटन ०.९३ प्रतिशत, जलविद्युत् १.४३ प्रतिशत, लगानी ०.७४ प्रतिशत, जीवन बीमा ०.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२० प्रतिशत, माइक्रोफाइनान्स ०.५६ प्रतिशत, निर्जीवन बीमा ०.६१ प्रतिशत, अन्य १.३१ प्रतिशत तथा व्यापार समूह १.७४ प्रतिशतले घटेका छन्।
मूल्य वृद्धितर्फ हालै सूचीकृत स्नो रिभर्सको सेयर १५ प्रतिशतले बढ्यो। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक १३.०४ प्रतिशत, स्वाभिमान लघुवित्त १०.८० प्रतिशत र सिर्जनशील लघुवित्त ७.३९ प्रतिशतले उकालो लागे।
गिरावटतर्फ टक्सार पिखुवाखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशतले घट्यो भने याम्बलिङ हाइड्रोपावर ८.२३ प्रतिशतले ओरालो लाग्यो। अघिल्लो दिनसम्म लगातार १५ प्रतिशतका दरले बढेका यी दुवै कम्पनीको सेयर सूचीकृत भएपछि पहिलो पटक घटेको हो।
यस्तै सोपान फर्मास्युटिकल्सको सेयर ५.९० प्रतिशत, श्रीनगर एग्रिटेक ५.४९ प्रतिशत र पियोर इनर्जी ५.४८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सिद्धार्थ बैंक, टक्सार पिखुवाखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर तथा याम्बलिङ हाइड्रोपावर अग्रस्थानमा रहे।