चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि चितवनका पार्टी नेताहरूले यसले जिल्लाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान स्थापित गरेको बताएका छन्।महाधिवेशनको स्थानीय व्यवस्थापनमा संलग्न नेताहरूले भरतपुरमा महाधिवेशन आयोजना गर्ने निर्णयले चितवनको राजनीतिक, पर्यटन तथा आर्थिक गतिविधिलाई नयाँ ऊर्जा दिएको बताएका हुन्।
उनीहरूले महाधिवेशन सफल बनाउन आयोजक जिल्लाको तर्फबाट कुनै कमी हुन नदिएको दाबी गरेका छन्।आवास तथा खानपान व्यवस्थापन संयोजक राजन गौतमले चितवनले रास्वपाको पहिलो महाधिवेशन आयोजना गर्ने ऐतिहासिक अवसर पाएको उल्लेख गर्दै महाधिवेशनका कारण जिल्लाको अर्थतन्त्रसमेत चलायमान भएको बताए। उनका अनुसार झण्डै एक सातासम्म देशभरबाट आएका नेता, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिले स्थानीय व्यवसायलाई समेत टेवा पुगेको छ।
महाधिवेशन प्राविधिक कारणले केही लम्बिए पनि आवास र खानपान व्यवस्थापनमा कुनै समस्या आउन नदिइएको उनले बताए। अत्यधिक गर्मीका कारण केही असहजता भए पनि समग्र व्यवस्थापन सफल रहेको उनको भनाइ छ। महाधिवेशन सफल बनाउन दिनरात खटिएका नेता, कार्यकर्ता र स्वयंसेवकप्रति उनले आभार व्यक्त गरे।
व्यवस्थापनको जिम्मेवारीका कारण आफूले केन्द्रीय पदमा उम्मेदवारी दिने अवसर गुमाएको उल्लेख गर्दै गौतमले व्यक्तिगत आकांक्षाभन्दा महाधिवेशनको सफलतालाई प्राथमिकता दिएको बताए। रास्वपा चितवनका जिल्ला सभापति मिनीमाधव खनालले केन्द्र र जिल्लाको संयुक्त टोलीको निरन्तर मेहनतका कारण महाधिवेशन सफल भएको बताए। उनले चितवनबाट पार्टीले नयाँ नेतृत्व र नीतिसहितको सन्देश देशभर पुर्याएको भन्दै यसप्रति जिल्लावासी गौरवान्वित रहेको बताए।
उनका अनुसार महाधिवेशनका क्रममा देशभरबाट आएका प्रतिनिधिले चितवनको राजनीतिक गतिविधिसँगै पर्यापर्यटन र समग्र सम्भावनाबारे जानकारी लिने अवसर पाएका छन्। महाधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरे। जिल्ला सचिव तेजेन्द्र पौडेलले चितवनका तीनवटै संसदीय क्षेत्रबाट केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व हुनु जिल्लाका लागि गौरवको विषय भएको बताए।
यसले चितवनको पहुँच पार्टीको केन्द्रीय नेतृत्व र सरकारका मन्त्रीहरूसम्म अझ सहज बनेको उनको भनाइ छ।पौडेलले पहिलो राष्ट्रिय महाधिवेशनपछि रास्वपा संगठनात्मक रूपमा थप सुदृढ, परिपक्व र राजनीतिक रूपमा अझ सक्रिय बन्ने विश्वास व्यक्त गरे।