प्रतिगमनलाई पराजित गर्नुपर्छ । यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले
- देशमा कम्युनिस्ट आन्दोलन कमजोर भएको र त्यसलाई पुनर्जीवित गर्न कुनै न कुनै रूपमा एमाले र नेकपाबीच सहकार्य वा एकता अपरिहार्य भएकोमा नेताहरुको जोड
- कम्युनिस्ट आन्दोलनमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी
- बाह्य शक्तिलेसमेत कम्युनिस्ट शक्तिलाई कमजोर बनाउन खोजिरहेको नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइ
- कम्युनिस्ट दलहरूबीचको एकतालाई निर्वाचनको अंकगणित नभई राजनीतिक अस्तित्व लडाइँ
- पार्टी एकता गर्नुअघि नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने नेकपा सहसंयोजक माधव नेपालको सर्त, तर आत्मसमीक्षा जरुरी नभएको एमाले अध्यक्ष केपी ओलीको अडान
काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलनमा फेरि एकताको रटान भएको छ । एक दशकअघि देशको लगभग सबै राजनीतिक शक्ति आफ्नो हातमा केन्द्रित गरेका कम्युनिस्ट दलहरूका नेताहरूले अहिले सानो आकारमा प्रतिनिधिसभामा सीमित भएपछि एकताबारे बहस चलाएका हुन् ।
छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । ढिला गर्नु हुँदैन । नत्र भयानक दुर्घटना हुन्छ ।
पुष्पकमल दाहाल
संयोजक, नेकपा
नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आइतबार मदन भण्डारी फाण्डेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले एउटै मञ्चबाट कम्युनिस्ट आन्दोलनको भविष्यबारे चिन्ता व्यक्त गर्दै एकताको आवश्यकता औंल्याए ।
उनीहरूका विचारमा देशमा कम्युनिस्ट आन्दोलन कमजोर भएको र त्यसलाई पुनर्जीवित गर्न कुनै न कुनै रूपमा एमाले र नेकपाबीच सहकार्य वा एकता अपरिहार्य भएको छ । तर, त्यो एकता कसरी गर्ने भन्ने प्रश्नमा उनीहरूको दृष्टिकोण प्रस्ट आएन । यद्यपि, एकताअघि कार्यगत एकता वा सहकार्यको बिन्दुमा पुग्नुपर्ने मत भने मुखर भयो । यति हुँदाहुँदै पनि पार्टीको अडान भने नेताहरूले कायम राखे ।
‘प्रतिगमनलाई पराजित गर्नुपर्छ यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ,’ एमाले अध्यक्ष ओलीले भने, ‘तर, हाम्रा नीति सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छैन एमाले ।’ ओलीको दल एमाले निकै कमजोर भएको छ । संगठन शक्ति मजबुत भनिए पनि गत २१ फागुनको निर्वाचनले प्रमुख प्रतिपक्ष बन्ने हैसियत पनि दिएन ।
यता, दाहालको नेतृत्वमा १५ वटाभन्दा बढी स-साना घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी) नेकपा बने पनि त्यो दल कमजोर हैसियतमा देखियो । अघिल्लो प्रतिनिधिसभामा ३२ सिटसहित एमाले-कांग्रेसमध्ये एकलाई साथ लिएर पटक-पटक सरकार गठन गरेका नेकपा संयोजक दाहालले पनि एकताको वातावरण नबने तत्काल कार्यगत एकता वा सहकार्य गर्नुपर्नेमा जोड दिए । दाहाल एकताको पक्षमा यसरी खुले कि एमाले र नेकपाबीच एकता जति ढिला भयो, त्यति नै कम्युनिस्ट आन्दोलन विघटनतिर जानेसमेत बताए ।
शुक्रबार विराटनगरमा पुगेर एमालेसँग एकता गर्ने बताएका उनले आइतबार भने, ‘राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंशुकताकाविरुद्ध, फासिजमकाविरुद्ध, वैदेशिक दबाबकाविरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । ढिला गर्नु हुँदैन । नत्र भयानक दुर्घटना हुन्छ ।’ दाहालले कम्युनिस्ट आन्दोलनमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी गरे । उनका अनुसार नेपालभित्र मात्रै होइन, बाह्य शक्तिलेसमेत कम्युनिस्ट शक्तिलाई कमजोर बनाउन खोजिरहेको छ । उनले कम्युनिस्ट दलहरूबीचको एकतालाई निर्वाचनको अंकगणित नभई राजनीतिक अस्तित्वसँग जोडेर हेरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता गर्नुपर्ने तर त्यसअघि नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने बताए । उनका अनुसार विगतका गल्ती स्वीकार नगरी फेरि पार्टी एकता गर्दा पुरानै समस्या दोहोरिने छ । उनले यसो भनेर ३ जेठ २०७५ एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएको र तर तीन वर्ष नपुग्दै एकता विघटन भएको तथ्यतर्फ संकेत गरेका हुन् । त्यही भएर पार्टी एकता गर्नुअघि खासगरी एमाले अध्यक्ष ओली र नेकपा अध्यक्ष दाहालले आत्मसमीक्षा गर्नुपर्ने विषयलाई नेपालले पहिलो सर्त बनाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा नेता झलनाथ खनालले विनासर्त छिटो कम्युनिस्ट क्रान्तिकारी शक्तिबीच एकता हुनुपर्ने बताए । ‘यो देशका कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुनैपर्छ वामपन्थी एकता अनेकन कालखण्डदेखि जरुरत थियो । हामी एकताबद्ध भयौं,’ उनले भने, ‘अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीनरूपमा अगाडि बढाऔं ।’
उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘तानाशाही’ भन्दै वामपन्थी एकताको नारा लगाए । ‘साम्राज्यवादीहरूले बबण्डर मच्चाइरहेका छन् । त्यसविरुद्धको लडाइँका लागि वामपन्थी एकता आवश्यक छ,’ उनले वापमन्थी एकताको नारा लगाउँदै भने । खनालले गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी शक्तिहरूले चुनावी तालमेलमात्रै गरेको भए १०० सिट जित्ने दाबी गरे ।
विगतमा ओलीसँग दाहाल, नेपाल र खनाल एक अर्काको मुख नहेर्नेसम्मको स्थितिमा पुगेका थिए । तर, आइतबार चारै जना एउटै मञ्चमा उभिएर एकताको रटान लगाए । कम्युनिस्ट पार्टीहरू प्रजातन्त्रको पुनर्वहालीपछिकै सर्वाधिक संकटपूर्ण अवस्थामा छँदा नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्यलाई लिएर चिन्तित पनि देखिए । जबकि, २०७४ को निर्वाचनपछि तत्कालीन नेकपा प्रतिनिधिसभामा झण्डै दुईतिहाइ बहुमतधारी दल थियो । राष्ट्रिय सभामा पनि नेकपा बलियो थियो । मधेसबाहेक सबै प्रदेशमा नेकपाको सरकार थियो । ७५३ स्थानीय तहमध्ये करिब ६० प्रतिशतमा नेकपाको सरकार थियो ।
तर, दशकपछि प्रतिनिधिसभामा कम्युनिस्ट दलहरू प्रमुख प्रतिपक्षसमेत बन्न सक्ने अवस्था भएन । देशव्यापीरुपमा कम्युनिस्ट पार्टीहरूले गत निर्वाचनमा हण्डर खाए । पार्टीप्रतिको प्रभाव कमजोर बन्दै गएको छ । अर्को वर्षको ३० वैशाखसम्ममा स्थानीय चुनाव भइसक्नुपर्छ । प्रदेशको चुनाव पनि स्थानीय चुनावसँगै गर्ने तयारी सरकारको छ । यस्तोमा निर्वाचनलाई पनि लक्षित गर्दै दुई ठूला कम्युनिस्ट दलहरू एमाले र नेकपाका नेताहरू एकता गरेरमात्रै चुनावमा जाने छाँट देखाइरहेका छन् ।
नेपालको संसदीय राजनीतिमा कम्युनिस्ट आन्दोलनको यात्रा विगतमा निकै प्रभावशाली थियो । २०१५ सालको पहिलो आमनिर्वाचनमा चार सिटबाट यात्रा सुरु भएको थियो । २०४८ सालमा कम्युनिस्ट शक्ति ८१ सिटमा पुग्यो । २०५१ सालमा ९२ सिट जित्दै मनमोहन अधिकारी नेतृत्वमा नेपालको पहिलो कम्युनिस्ट सरकार गठन भयो । २०६४ सालको संविधानसभा निर्वाचनमा कम्युनिस्ट दलहरूले ६०१ मध्ये ३७० सिट जिते । २०७० सालमा पनि बहुमत नजिकको उपस्थिति कायम रह्यो । २०७४ सालमा एमाले-माओवादी गठबन्धनले १७६ सिट जित्यो । यतिबेला भने कम्युनिस्ट दलहरू र तिनका नेताहरू एमाले र नेकपा शक्तिहीन बनेका छन् र एकताको रटान लगाउन थालेका छन् ।
यस्तोमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि कम्युनिस्ट दलहरूबीच एकता अपरिहार्य रहेको बताइन् । उनले कम्युनिस्ट आन्दोलन एउटा निर्वाचन हार्दैमा सकिएको निष्कर्षमा पुग्न नमिल्ने भन्दै कम्युनिस्ट दलहरू र तिनका नेताहरूलाई हौस्याइन् ।