निर्वाचनमा पुराना, नयाँ सबैलाई जिम्मेवारी प्रतिनिधिले दिएको अवस्था छ, यहाँ कसैले गुट बनाएको हल्लालाई यसले चिरेको छ, यसले थप जिम्मेवारी दिएको छ । नयाँ र पुरानाको विषय अब सकिएको छ । अब कतै कसैले केही तुस राख्न पाइने छैन ।
रवि लामिछाने
सभापति, रास्वपा
- रवि लामिछानेको नेतृत्वमा चुनियो नयाँ कार्यसमिति
- सभापति लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
- निर्वाचनबाट रविका विश्वासपात्र विपिन महामन्त्रीमा निर्वाचित, वालेन्द्रसँग नजिकिँदा मनिषलाई घाटा
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । चितवनको भरतपुरस्थित गेस्टहाउसचौरमा असार ७ गते उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भने चितवन उद्योग वाणिज्य महासंघको भवनमा भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशन शुक्रबारसम्म लम्बिएको थियो ।
चार वर्ष पहिले उदाएको पार्टी आजबाट संस्थागत भएको छ । जुन अपेक्षा नेपाली नागरिकले राख्नुभएको छ । त्यही अपेक्षामा खरो उत्रिएर पार्टीलाई अझ बढी पारदर्शी र अझ बढी विधिसम्मत र पार्टीलाई नागरिकप्रति उत्तरदायी बनाउने दिशामा महामन्त्रीका रुपमा मेरो भूमिका रहने छ ।
विपिन आचार्य
महामन्त्री, रास्वपा
प्रथम महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ । उपसभापतिमा डा. स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भए । प्रधानमन्त्री वालेन्द्र शाहलाई भने सभापति लामिछानेले वरिष्ठ नेतामा मनोनीत गर्ने भएका छन् । नवनिर्वाचित सभापति लामिछानेले शुक्रबार शपथ लिएका छन् ।
पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमार्फत पार्टीको शक्तिशाली पद महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् । आचार्य सभापति लामिछानेका विश्वासपात्र हुन् । शुक्रबार भएको निर्वाचनमा आचार्य ६७३ मत पाउँदै महामन्त्रीमा निर्वाचित बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मनिष झाले ३४६ मत पाए ।
रास्वपामा मधेस फ्याक्टरलाई सम्बोधन गर्न भन्दै झालाई महामन्त्री बनाउने तयारी गरे पनि त्यो सफल हुन सकेन । प्रवक्ताको जिम्मेवारीमा रहेका झा पछिल्लोपटक प्रधानमन्त्री शाहसँग नजिकिएका थिए । जसले पनि महामन्त्रीमा निर्वाचित हुने उनको बाटो बन्द भएको बताइएको छ ।
आचार्य सभापति लामिछानेसँग ग्यालेक्सी टेलिभिजनमा क्रिएटिभ डाइरेक्टरको रुपमा आवद्ध थिए । फागुन २१ गतेको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई हराउँदै प्रतिनिधिसभामा निर्वाचित उनी बायोटेक इञ्जिनियर हुन् । यसअघिको कार्यसमितिमा सहमहामन्त्री रहेका आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम हटाएर प्रत्यक्षमा भिडेका थिए ।
निर्वाचित भएपछि उनले सबैलाई धन्यवाद दिँदै महाधिवेशनबाट पार्टी संस्थागत भएको बताएका छन् । ‘चार वर्ष पहिले उदाएको पार्टी आजबाट संस्थागत भएको छ । जुन अपेक्षा नेपाली नागरिकले राख्नुभएको छ । त्यही अपेक्षामा खरो उत्रिएर पार्टीलाई अझ बढी पारदर्शी र अझ बढी विधिसम्मत र पार्टीलाई नागरिकप्रति उत्तरदायी बनाउने दिशामा महामन्त्रीका रुपमा मेरो भूमिका रहने छ,’ महामन्त्रीमा निर्वाचित भएपछि आचार्यले भने ।
महामन्त्रीमा राजु पाण्डेदेखि रञ्जु दर्शनासम्मले दाबी गर्दा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारीबाट नाम झिकेका थिए । पछि आचार्य, झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा भएको थियो । कार्कीले १६९, ढकालले १३९ मत पाए भने उम्मेदवारी फिर्ता लिएकी दर्शनाले ३४ मत पाएकी थिइन् ।
महिला उपसभापति बनिन् सोबिता
खुलातर्फ सभापतिमा अर्थमन्त्रीसमेत रहेका डा. वाग्ले निर्विरोध निर्वाचित हुँदा महिला उपसभापतिमा भने प्रतिस्पर्धा भयो । कानुनमन्त्रीसमेत रहेकी सोबिता गौतम र डा. तोसिमा कार्कीबीचको प्रतिस्पर्धालाई ‘कालोकोट’ र ‘सेतोकोट’को प्रतिस्पर्धा भनेरसमेत नामकरण गरिएको थियो ।
यो प्रतिस्पर्धामा कालोकोटले बाजी मारेको छ । गौतमले ७८९ मत पाउँदा डा. कार्कीले ५७२ मतमात्र पाइन् । गौतम संस्थापनपक्षको साथ लिएर उपसभापतिमा विजयी भएकी हुन् ।
केन्द्रीय सदस्यमा मन्त्री नै पराजित
रास्वपा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा ओर्लिएका नौ जना मन्त्रीमध्ये एक जना पराजित भएका छन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले केन्द्रीय सदस्यको निर्वाचनमा ८६९ मतमात्र पाए । अर्थमन्त्री वाग्ले, कानुनमन्त्री गौतम केन्द्रीय सदस्यमा निर्वाचित हुँदै उपसभापतिमा निर्वाचित भइसकेका छन् । यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी, महिलामन्त्री सीता वादी पनि केन्द्रीय सदस्यमा निर्वाचित भए ।
प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का छ जना सदस्यले उम्मेदवारी दिएनन् । प्रधानमन्त्री शाह सीधै वरिष्ठ नेतामा मनोनीत हुने भएकाले उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएनन् । त्यस्तै, गृहमन्त्री सुधन गुरूङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पनि उम्मेदवारी दिएनन् । सुनिल या सुधनमध्ये एकलाई उपसभापतिमा मनोनीत गर्ने तयारी रास्वपाको छ ।
भूमिमन्त्री प्रतिभा रावल, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिना, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पनि उम्मेदवारी दिएनन् । भूमिमन्त्री रावलकी सचिवालय सदस्य आकांक्षा पोखरेल भने केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । चितवनकी २३ वर्षीया पोखरेल सबैभन्दा कान्छी केन्द्रीय सदस्यसमेत बनेकी छिन् ।
दुई वर्ष पत्रकारितापछि राजनीतिमा लागेकी भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी बनेकी हुन् । रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहँदै उनी भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको बनेकी थिइन् ।
सहमहामन्त्रीमा शाह, ढकाल र डाँगी निर्वाचित
तीन सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन् । असिम वालेन्द्र समूहका नेता हुन् । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकारसमेत रहेका उनले सहमहामन्त्रीमा सबैभन्दा धेरै मत पाए ।
शाहले ४७१ मत पाउँदा र ढकालले ४१० मत प्राप्त गरी खुला सहमहामन्त्री पदमा निर्वाचित भए । खुलातर्फका दुई सहमहामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको थियो । जसमा पुकार बमले ३३४, रमेश प्रसाईंले ३०७, यज्ञमणी न्यौपानेले ३००, सुलभ खरेलले २९१, अशोककुमार चौधरीले १७९, मिलन लिम्बूले १५१, राजीव खत्रीले १४८, वीरेन्द्र जैरुले ११४ र हिमेश पन्तले ५३ मत पाए ।
एक महिला सहमहामन्त्री पदमा ७३७ मत ल्याएर डाँगी निर्वाचित भइन् । उक्त पदमा उम्मेदवारी दिएकी रिमा विश्वकर्माले २८२, कामिनीकुमारी चौधरीले १४६, विदुषी राणाले ८२ र जुली यादवले ७८ मत पाए ।
कति मनोनीत गर्न बाँकी ?
सभापति लामिछानेले वरिष्ठ नेतामा वालेन्द्र शाहलाई मनोनीत गर्ने छन् । त्यसैगरी उपसभापति र महामन्त्री एक–एक जना मनोनीत हुन बाँकी छ ।
दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष पनि मनोनीत हुन बाँकी छ । यसैगरी ५१ केन्द्रीय सदस्य पनि सभापति लामिछानेले मनोनीत गर्ने छन् ।
गुटको हल्लालाई चिरेको सभापति लामिछानेको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा चलेको गुटको हल्लालाई चिरेको दाबी गरेका छन् । शुक्रबार सभापति पदको शपथ लिँदै लामिछानेले नयाँ र पुरानोको विषयसमेत सकिएको बताए ।
‘निर्वाचनमा पुराना, नयाँ सबैलाई जिम्मेवारी प्रतिनिधिले दिएको अवस्था छ, यहाँ कसैले गुट बनाएको हल्लालाई यसले चिरेको छ, यसले थप जिम्मेवारी दिएको छ । नयाँ र पुरानाको विषय अब सकिएको छ,’ उनले भने, ‘अब कतै कसैले केही तुस राख्न पाइने छैन । पार्टी अब परिपक्व बन्यो, असल राजनीतिक चरित्र बनाएर जानका लागि मार्गप्रशस्त बनाएको छ ।’
लामिछानेले पार्टीका नेता र सांसदहरुले व्यक्त गर्ने धारणामा विशेष ख्याल गर्न आग्रह गरे । ‘हामीका सबै अभिव्यक्ति सबैले ध्यान दिएर बसेको अवस्था छ, यसबारे विशेष ध्यान दिनुपर्ने छ, हामी त्यसमा सचेत छौं, धेरै भरोसा मतदाताले गरेका छन्, आम नेपालीले गरेका छन् । हिजोका दलहरूले जसरी प्रतिशोध साँचे, रास्वपाले त्यसको पुनरावृत्ति गर्नु हुँदैन,’ उनले भने । सभापति लामिछानेले महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विभिन्न राजनीतिक आरोपको जवाफ दिएको दाबी गर्दै रास्वपा विचारविहीन दल भएको आरोपसमेत महाधिवेशनबाट खारेज भएको बताए ।
उनले पार्टीको स्थापनाकालदेखि प्रयोग हुँदै आएको ‘जान्नेलाई छान्ने’ नारालाई अब परिमार्जन गरिएको जानकारी दिँदै आगामी दिनमा ‘जान्ने बनाइ छान्ने’ नाराका साथ पार्टी अघि बढ्ने तर्क गरे ।