काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीलाई पुनर्स्थापना खर्च स्वरूप २५ हजार रूपैयाँ राहतका लागि प्रक्रिया अघि बढाइएको छ । यही असार १२ गतेभित्र अहिले बसिरहेको ठाउँ खाली गरेर स्व:व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको हाे ।
प्रशासनले राहत रकम प्राप्त गर्न निवेदन दिन भनेको छ । राहत रकम सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइने प्रशासनले जनाएको छ । उनीहरूले घरभाडाबापतको रकम किस्ताबन्दीमा पाउने छन् । गत जेठ ५ को मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमबासीका लागि पुन:स्थापनाका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय सरकारको छ ।