- अर्नब चक्रवातका कारण भारतको आन्ध्र प्रदेशमा पाँच जनाको मृत्यु, ३० वटा घरमा क्षति
- आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उडाउनुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन्, कयौ हेक्टर धानबाली नष्ट
काठमाडौं– बंगालको खाडीबाट तीव्र गतिमा आएको अर्नब चक्रवातको असर नेपालमा देखिन थालेको छ । बुधबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा यसको असर देखिएको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महशाखाले जानकारी दिएको छ ।
महाशाखाकी मौसमविद् बिनु महर्जनले बुधबार बिहान लुम्बिनीका केही भागमा अर्नबको कारण वर्षा भएको बताइन् । ‘लुम्बिनीमा बुधबार बिहान पानी परेको छ । कर्णाली र सदूरपश्चिमका आकाशमा यसको असर देखिएको छ,’ महर्जनले भनिन् ।
यो चक्रवातका कारण आज (बिहीबार) देखि आइतबार बिहानसम्म कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा भारी वर्षा हुने महर्जनले बताइन् । यसैले सरकारले यसका लागि प्रतिकार्यको तयारी गर्नुपर्नेमा महर्जनले जोड दिइन् । ‘बिहीबारदेखि आइतबार बिहानसम्म कोशी, बागमती र गण्डकीको हिमाली क्षेत्रमा भारी वर्षा हुने देखिएको छ । ती क्षेत्रमा प्रतिकार्यमा जुट्नुपर्ने देखिन्छ । अरु क्षेत्रमा सतर्क रहनुपर्ने अवस्था छ,’ उनले भनिन् ।
मौसम विभागले अहिले खेतीबालीमा काम गर्न नजान र पर्यटकीय क्षेत्रमा पदयात्रा रोक्नसमेत आग्रह गरेको छ ।
हवाई सुरक्षामा सतर्कता अपनाउन आग्रह
सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले बुधबार सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन, आवश्यकताअनुसार अन्य हवाई सेवा एकाइसँग समन्वय गर्न तथा मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भएमा उडानको मार्ग परिवर्तन, होल्डिङ र अन्य आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
त्यस्तै, भारी वर्षा वा प्रतिकूल मौसमका कारण विमानको उडानमा असर पर्न सक्ने भएकाले राडार नियन्त्रकलाई आवश्यक दूरी कायम गर्न भनिएको छ । हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), तीव्र वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबताससम्बन्धी जानकारी उडान भर्ने तथा अवतरण गर्ने विमानलाई तत्काल उपलब्ध गराउन पनि परिपत्रमा उल्लेख छ ।
प्राधिकरणले वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने तथा विमानको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न निर्देशन दिएको छ । वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्यांकन गर्न, सम्भावित ढिलाइ, होल्डिङ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्न र पर्याप्त इन्धन व्यवस्थापनसहित निर्धारित सुरक्षा प्रक्रियाको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।
पदयात्रामा नजान आग्रह
पर्यटन विभागले यो अवधिमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ । प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुनसक्ने भएकाले उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले पर्यटकलाई सतर्क रहन आग्रह गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले चिसो बढ्ने, सडकमा पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए ।
यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि मौसम प्रतिकूल हुने सूचना प्राप्त भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा सवारी साधन नलैजान आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो भई सवारी दुर्घटनामा पर्न सक्ने र सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले कोरला नाकातर्फ सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई अनुरोध गरेका छन् ।
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ । टानले एक सूचना जारी गरी बंगालको खाडीमा विकसित भएको ‘अर्नब चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो ।
टानले सम्भावित चक्रवातका कारण पर्न सक्ने प्रभावबारे आफ्ना गाइड, सहयोगी र पर्यटकलाई समयमै जानकारी गराएर सोहीअनुसारको पूर्वतयारीको प्रबन्ध मिलाउन आग्रह गरेको छ ।
स्वास्थ्य क्षेत्रमा चनाखो रहन आग्रह
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरी प्रतिकार्यका काममा प्रभावकारी बन्न आग्रह गरेको हो ।
एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाले जारी गरेको परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहन एक जना आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्ने, निजको सम्पर्क विवरण एकाइमा उपलब्ध गराउन तथा सार्वजनिक गर्न भनेको छ ।
त्यसैगरी, सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालनसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (इएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ ।
एकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिकरूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य रूपमा पठाउन पनि सबै प्रदेशका केन्द्रलाई आग्रह गरेको छ ।
कहाँ कहाँ पर्दै छ भारी वर्षा ?
सुदूरपश्चिम र कर्णालीबाहेकका अरु प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । ‘हालसम्मको मौसम विश्लेषणअनुसार कातिक १२ गते बिहीबारबाट सुरु भई विशेषगरी आइतबार बिहानसम्म कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशसम्मको क्षेत्र बढी प्रभावित हुने सम्भावना रहेको छ,’ महाशाखाले बुधबार जारी गरेको विशेष बुलेटिनमा भनिएको छ ।
त्यसको प्रभावले आजदेखि आइतबार बिहानसम्म कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
‘लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ,’ महाशाखाले भनेको छ, ‘साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षासमेत सम्भावना छ ।’
भारतमा पाँच जनाको मृत्यु, डेढ लाखभन्दा बढीको उद्धार
काठमाडौं (प्रस)– अर्नब चक्रवातका कारण भारतको आन्ध्र प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाइदुलाई उद्धृत गर्दै द हिन्दूको अनलाइन संस्करणले चक्रवातका कारण पाँच जनाको मृत्यु भएको जनाएको हो । चक्रवातका कारण हावाहुरी चलेपछि रुख ढल्दा र करेन्ट लागेर उनीहरुको मृत्यु भएको बताइएको छ ।
यो समाचार तयार पार्दासम्म उक्त चक्रवातका कारण उत्पन्न आँधीले ३० वटा घरमा क्षति पुगेको जनाइएको छ । २८ अक्टोबर २०२६ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको अर्नबले तीव्र हावाहुरी र भारी वर्षा आउँदा आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् । ओडिसाका दक्षिणी जिल्लाहरूमा पनि तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ ।
चक्रवातले सिर्जना गरेको वर्षाका कारण ७९ हजारभन्दा बढी हेक्टरमा लगाइएको धानबाली नष्ट भएको र २५ लाखभन्दा बढी विद्युत् लाइनको कनेक्सन अवरुद्ध भएका छन् । सरकारी स्रोतहरुलाई दाबी गर्दै यो विपद्बाट एक लाख ८० हजार जनालाई सरकारले उद्धार गरेको जनाएको छ । भारी वर्षाका कारण विशाखपट्टनका ३८ भन्दा बढी हवाई उडान रद्द भएका र विद्यालयहरु बन्द रहेका छन् । भारतले बिहार, उडिसा, तेलंगना, मध्यप्रदेश, झारखण्ड, उत्तरप्रदेशलगायत राज्यहरुमा उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको छ ।
भारतका प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेका छन् भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार चक्रवात बुधबार बिहानपख करिब १ः२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न सुरु गरेको थियो । यो क्षेत्र यानमको दक्षिणमा तथा बापटला र विशाखापट्टनमबीच पर्छ ।
गुगलको मौसम पूर्वानुमान स्याटलाइटले भने नेपाल आइपुग्दा चक्रवातको असर कमजोर हुने जनाएको छ । २१५ किलोमिटर प्रतिघण्टाको गतिमा सुरु भएको अर्नब चक्रवातको गति बुधबार आइपुग्दा प्रतिघण्टा ८५ किलोमिटरमा झरेको छ । बिहीबार यसको गति प्रतिघण्टा ४५ मिलोमिटरमा झर्ने बताइएको छ ।