बुटवल - लुम्बिनी प्रदेश सभाको आजको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफल सुरु हुनुअघि सांसदहरूको विरोधका कारण बैठक अवरुद्ध भएको हो।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। तर छलफल प्रारम्भ हुनुअघि नै करिब १६ जना प्रदेश सभा सदस्यले उठेर बजेटको विषयमा विरोधमा उत्रिएपछि सदनको कार्यवाही प्रभावित भएको थियो।
सत्तापक्षका केही सांसदहरूले समेत बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै विरोध जनाएपछि बैठक सहज रूपमा सञ्चालन हुन नसकेको हो ।
सदनको अवस्था असहज बनेपछि सभामुख तुलाराम घर्ती मगरले दलहरूबीच सहमति कायम गर्न समय आवश्यक रहेको उल्लेख गर्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्। बैठक पुनः सञ्चालन भएपछि बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।