चितवन - चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई नजिकबाट नियालिरहेका जेनजी अगुवा रवि किरण हमाल ले पार्टीलाई संस्थागत, प्रतिस्पर्धी र पुस्तान्तरणमैत्री बनाउन केही महत्वपूर्ण सुझाव सार्वजनिक गरेका छन्।
हमालले पार्टीभित्र “एक व्यक्ति, एक जिम्मेवारी” को सिद्धान्त कडाइका साथ लागू गर्नुपर्ने धारणा राख्दै शक्ति र जिम्मेवारीको अत्यधिक केन्द्रीकरणले संस्थाभन्दा व्यक्तिलाई बलियो बनाउने बताएका छन्। उनका अनुसार दीर्घकालीन रूपमा बलियो संगठन निर्माणका लागि जिम्मेवारीको स्पष्ट विभाजन र संस्थागत नेतृत्व आवश्यक छ।
त्यसैगरी, रास्वपाले बोकेको परिवर्तनको भावना र जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै कम्तीमा एक चौथाइ स्थान नयाँ पुस्ताका लागि सुनिश्चित गर्नुपर्ने उनले सुझाव दिएका छन्। ती स्थानमा सोही पुस्ताबीच मात्र प्रतिस्पर्धा हुने व्यवस्था गर्न सके नयाँ पुस्ताले प्रतीकात्मक उपस्थितिभन्दा वास्तविक नेतृत्वको अवसर पाउने उनको विश्वास छ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन पदाधिकारी चयन प्रक्रिया पनि खुला, निष्पक्ष र प्रतिस्पर्धात्मक हुनुपर्ने उनले बताएका छन्। “लोकतन्त्रको सुन्दरता प्रतिस्पर्धामा हुन्छ। प्रतिस्पर्धाको अभावमा महाधिवेशन केवल अनुमोदन सभा बन्ने जोखिम रहन्छ,” हमालले उल्लेख गरेका छन्।
उनले महाधिवेशनले संस्थाभन्दा व्यक्तिलाई, प्रतिस्पर्धाभन्दा सहमतिलाई र पुस्तान्तरणभन्दा यथास्थितिलाई प्राथमिकता दिएमा त्यो परिवर्तनको राजनीति नभई परम्परागत राजनीतिक संस्कृतिको पुनरावृत्ति मात्र हुने चेतावनी दिएका छन्।हमालले रास्वपाको प्रथम महाधिवेशनले नेपाली राजनीतिमा नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने अपेक्षा व्यक्त गर्दै अवसर पहुँचका आधारमा होइन, क्षमता, योग्यता र खुला प्रतिस्पर्धाका आधारमा तय हुने प्रणाली निर्माण गर्नुपर्ने बताएका छन्।
“रास्वपाको पहिलो महाधिवेशनले नेपाली राजनीतिलाई नयाँ दिशा दिने ऐतिहासिक अवसर बोकेको छ। यो अवसरलाई संस्थागत लोकतन्त्र, पुस्तान्तरण र योग्यतामा आधारित नेतृत्व विकासतर्फ रूपान्तरण गर्न सकियो भने त्यसले समग्र राजनीतिक संस्कृतिमै सकारात्मक प्रभाव पार्नेछ,” उनले बताएका छन्।