जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ ।नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पद रिक्त भएको हो ।
केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएकोसम्बन्धी सूचना मङ्गलबार जारी गरेको छ । उक्त सूचनाअनुसार कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिका अध्यक्ष बुढालगायत पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिकाको-३ का अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको निर्वाचन आयोगको सूचनामा उल्लेख गरिएको छ ।
अन्सारी र ढकाल पनि कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन । आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम पदमुक्त भएको जनाएको छ । ऐनमा दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए ।