- पार्टीको कार्यक्रममा सुर्खेत पुगेका पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा
- आठपटक मन्त्री र पाँचपटक अर्थमन्त्री बनेका पौडेलमाथि सत्तामा रहँदा राज्यको स्रोत दुरुपयोग, विवादास्पद व्यापारिक समूहसँगको सम्बन्ध र शंकास्पद आर्थिक लाभसँग जोडिएको प्रकरणमा अनुसन्धान हुने
- सम्पत्ति शुद्धीकरण प्रकरणमन मुद्दा चलाइएका व्यवसायी दीपक भट्टसँग सम्बन्ध रहेको पाइएपछि पक्राउ गरिएको स्रोतको दाबी
- पौडेलको पक्राउप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीको अपत्ति, अपहरण शैलीमा गैरकानुनी ढंगले पक्राउ गरिएको दाबी
काठमाडौं- पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका छन् । आठपटक मन्त्री र पाँचपटक अर्थमन्त्री बनेका पौडेलमाथि सत्तामा रहँदा राज्यको स्रोतको दुरुपयोग, विवादास्पद व्यापारिक समूहसँगको सम्बन्ध र शंकास्पद आर्थिक लाभसँग जोडिएको प्रकरणमा अनुसन्धान हुने भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार उनलाई सुर्खेतबाट नियन्त्रणमा लिएको हो । अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार पौडेलमाथि हालसम्म औपचारिक अभियोग दर्ता भइसकेको छैन । तर, विभागले उनीमाथि सम्पत्तिको स्रोत, सेयर कारोबार र सार्वजनिक पदमा रहँदा प्राप्त हुन सक्ने आर्थिक लाभबारे गम्भीर अनुसन्धान अघि बढाएको छ ।
विभागनिकट स्रोतका अनुसार अनुसन्धानको प्रमुख आधारमध्ये एउटा पौडेलसँग जोडिएको सेयर कारोबार हो । पछिल्ला वर्षहरूमा विभिन्न कम्पनीका सेयर खरिद--बिक्री तथा त्यसबाट आर्जित सम्पत्तिको स्रोतबारे विभागले अध्ययन गरिरहेको बताइएको छ । सम्पत्ति शुद्धीकरण प्रकरणमै मुद्दा चलाइएका व्यवसायी दीपक भट्टसँग एमाले नेता पौडेलको सम्बन्ध खुलेपछि पक्राउ गरिएको स्रोतको दाबी छ । भट्टसहित उक्त समूहमा जोडिएकाहरुविरुद्ध मुद्दा दायर भइसकेको छ । उनीहरुलाई अहिले पुर्पक्षका लागि थुनामा राखिएको छ ।
अनुसन्धानकर्ताहरूले भट्ट र उनीसँग जोडिएका व्यावसायिक समूहहरूमाथि अनुसन्धान गर्दा पौडेलसँग सम्बन्धित आर्थिक विवरणहरूसमेत फेला परेको दाबी गरेका छन् । ती विवरणको आधारमा सम्पत्तिको वृद्धि, लगानीको प्रकृति र आम्दानीको स्रोतबीच मेल खान्छ कि खाँदैन भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि राज्यशक्तिमा रहँदा केही व्यापारिक तथा स्वार्थ समूहलाई फाइदा पुग्ने निर्णयहरू गरेको र त्यसको बदलामा प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिएको हुनसक्ने आशंकामाथि पनि अनुसन्धान गरिरहेको स्रोतको दाबी छ । पौडेल लामो समय अर्थ मन्त्रालयको नेतृत्वमा रहे । अर्थमन्त्रीका रूपमा उनले कर नीति, लगानी नीति, बैंकिङ क्षेत्र, पूर्वाधार आयोजना र विभिन्न आर्थिक निर्णयहरूमा निर्णायक भूमिका खेलेका थिए ।
यही पृष्ठभूमिमा कतिपय व्यावसायिक समूहसँग उनको सम्बन्ध तथा ती समूहबाट प्राप्त हुन सक्ने सम्भावित आर्थिक लाभबारे अनुसन्धान केन्द्रित भएको बताइन्छ । अनुसन्धान अधिकारीहरूका अनुसार अहिले कुनै निष्कर्षमा पुगिसकिएको छैन । तर, राज्यको उच्च पदमा बसेका व्यक्तिको सम्पत्तिमा अस्वाभाविक वृद्धि भएको देखिए त्यसको स्रोत पुष्टि गर्नुपर्ने कानुनी दायित्व हुने भएकाले विस्तृत अनुसन्धान आवश्यक भएको निष्कर्षमा विभाग पुगेको छ ।
पक्राउअघि विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेको थियो । त्यहाँबाट विभिन्न कागजात, वित्तीय अभिलेख तथा अनुसन्धानमा उपयोगी हुन सक्ने सामग्री नियन्त्रणमा लिइएको बताइएको छ । ती कागजातको अध्ययनबाट बैंकिङ कारोबार, लगानी, सम्पत्ति खरिद-बिक्री तथा सम्बन्धित वित्तीय गतिविधिबारे थप तथ्य खुल्ने अपेक्षा अनुसन्धानकर्ताहरूको छ । स्रोतका अनुसार अहिले संकलित सामग्रीको फरेन्सिक तथा वित्तीय विश्लेषण गर्ने तयारी भइरहेको छ ।
पौडेल पक्राउ पर्दा पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । एमालेले देशभर पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेकोमा सोही अभियानका क्रममा उनी सुर्खेत पुगेका थिए । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि विभागको समन्वयमा प्रहरीले उनलाई सुर्खेतस्थित एक होटलबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको थियो । प्रारम्भिक प्रक्रिया पूरा गरेपछि नेपालगञ्ज पुर्याइएको थियो । उनलाई सोमबार साँझ नै सडकमार्गबाट काठमाडौं पठाइएको नेपालगञ्ज प्रहरी स्रोतले जानकारी दिएको छ ।
आज विशेष अदालतबाट म्याद थप गरी औपचारिक अनुसन्धान अघि बढाउने तयारी विभागले गरेको छ । पौडेल नेपालको कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेतामध्ये एक मानिन्छन् । २०३४ सालदेखि राजनीतिमा सक्रिय रहेका उनी एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीपछि सबैभन्दा प्रभावशाली नेतामध्ये एकका रूपमा चिनिन्छन् ।
उनले युवा तथा खेलकुदमन्त्री, जलस्रोतमन्त्री, रक्षामन्त्री तथा पाँचपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाले । तीनपटक उपप्रधानमन्त्रीसमेत बनेका पौडेलले नेपालको आर्थिक नीति निर्माणमा लामो समय प्रभाव पारेका थिए । २०७५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महासचिव बनेका उनी हाल एमालेका उपाध्यक्ष छन् । लामो राजनीतिक यात्रामा पहिलोपटक उनी कुनै गम्भीर आर्थिक अपराधसम्बन्धी अनुसन्धानका कारण पक्राउ परेका हुन् । त्यसैले यो घटनालाई उनको राजनीतिक जीवनकै सबैभन्दा ठूलो संकटका रूपमा हेरिएको छ ।
ओलीको आपत्ति, अपहरण शैलीमा पक्राउ गरिएको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई अपहरण शैलीमा पक्राउ गरिएको भन्दै भत्र्सना गरेका छन् । उनले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै पौडेलको गिरफ्तारी गैरकानुनी भएको दाबी गरेका छन् । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
ओलीले वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा भएकोसमेत दाबी गरेका छन् । ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा एमालेमाथि लगातार भइरहेका शृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन र सामान्य कानुनी प्रक्रियाकोसमेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ ।’