काठमाडाैं - नेपाल तामाङ घेदुङद्वारा धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा आयोजित दुई दिने तामाङ संस्कार, संस्कृति तथा ताम्बा–बोन्बो–लामा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, दर्शन र परम्परागत ज्ञानको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले समुदायमा नयाँ उत्साह र जागरण पैदा गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव, भाषा कार्यक्रम संयोजक तथा कार्यक्रम समन्वयकर्ता विलम मोक्तानको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल प्रमुख अतिथि तथा उपाध्यक्ष सीता चोदेन विशेष अतिथिका रूपमा सहभागी थिए । यसका साथै तामाङ घेदुङका पूर्वअध्यक्ष मोहन गोले, मानवशास्त्री डा. मुक्त सिं थोकार संघीय सदस्य विजय पाख्रिन, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, स्थानीय ताम्बा, बोन्बो, लामा तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख सहजकर्ता मानवशास्त्री डा. मुक्त सिं थोकारले तामाङ समुदायको जन्मदेखि छेवार, विवाह, मृत्यु संस्कार र घेवा परम्परासम्मका सांस्कृतिक पक्षहरूको विस्तृत व्याख्या गर्दै तामाङ समुदायमा प्रचलित सगुन संस्कृतिको सामाजिक, सांस्कृतिक र दार्शनिक महत्वबारे प्रकाश पारे। उनले भने,'संस्कार र संस्कृति केवल परम्परा मात्र नभई समुदायको अस्तित्व, पहिचान र सभ्यताको आधार हाे '।
त्यसैगरी तामाङ घेदुङका पूर्वअध्यक्ष मोहन गोलेले तामाङ समुदाय राज्यसत्ताको निर्णायक तहमा पुग्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षा, चेतना र संगठनलाई समुदायको उन्नतिको मुख्य आधारका रूपमा प्रस्तुत गरयो। उहाँले समुदायको अधिकार, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न सांस्कृतिक जागरणसँगै राजनीतिक तथा शैक्षिक सशक्तीकरण अपरिहार्य रहेको धारणा राखे ।
प्रशिक्षणका क्रममा सहभागीहरू तारावीर तामाङ, धन्सुर वाइबा, लामा गुरु तथा बोन्बो गुरुहरूले धर्म, संस्कार, परम्परा, सामाजिक अभ्यास र समुदायभित्र देखिएका समसामयिक चुनौतीहरूबारे उठाएका जिज्ञासा तथा विषयहरूमाथि विस्तृत छलफल भएको थियो। कार्यक्रमले पुस्तान्तरणको क्रममा हराउँदै गएका मौलिक ज्ञान, परम्परा र अभ्यासलाई पुनः जीवन्त बनाउने प्रयास गरेको सहभागीहरूको भनाइ थियो।
उपाध्यक्ष सीता चोदेनले आफ्नो कार्यकालमा समुदायको हितका लागि विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिएको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए। उनले भने ,'भाषा, संस्कृति, शिक्षा र समुदायको समग्र विकासका क्षेत्रमा स्थानीय सरकार प्रतिबद्ध रहेको छ । '
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले तामाङ समुदायको संस्कार, संस्कृति र भाषा नेपालको बहुमूल्य सम्पत्ति भएको उल्लेख गर्दै स्थानीय तहबाट भाषा, संस्कृति र शिक्षासम्बन्धी योजनाहरू तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । उनले मौलिक संस्कृति संरक्षणबिना समृद्ध समाज निर्माण सम्भव नहुने धारणा राखे ।
दुई दिने प्रशिक्षण कार्यक्रमको समापन गर्दै कार्यक्रम अध्यक्ष विलाम मोक्तानले तामाङ समुदायको मौलिक दर्शन, ज्ञान प्रणाली र सामाजिक संरचनालाई बुझ्न “ठुङबा, श्हेङबा र तेन्बा” का अवधारणाहरू अत्यन्त महत्वपूर्ण रहेको बताए। साथै “लाह्राप, फाराप, सेराप र दोङराप” तामाङ समुदायको इतिहास, दर्शन, सामाजिक संरचना तथा ज्ञान परम्पराका आधारभूत स्तम्भहरू भएको उल्लेख गरे ।उनले भने “भाषा हाम्रो पहिचान हो, संस्कार–संस्कृति हाम्रो अस्तित्व हो” भन्ने सन्देशसहित समुदायको मौलिक ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउँदै निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
तामाङ समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र ज्ञान प्रणालीलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने महत्वपूर्ण अभियानका रूपमा हेरिएको छ ।