पर्सा - भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले प्रतिष्ठित शंकराचार्य गेटमा १२औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेकाे छ ।भारतको महावाणिज्य दूतावास, वीरगंजले अन्तर्राष्ट्रिय योग दिवस २०२६ भारत र नेपालबीचको गहिरो सांस्कृतिक एवं आध्यात्मिक सम्बन्धको प्रतीकका रुपमा रहेकाे स्मारकअघि १२औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेकाे हाे ।
मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादव यस अवसरमा प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए । विशिष्ट अतिथिहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री मा. शंकर प्रसाद चौधरी रहेका थिए ।
कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, स्थानीय वाणिज्य संघका सदस्यहरू, नेपाल भारत मैत्री संघ (निफा), पतंजलि योग समिति (पर्सा एवं बारा), पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकहरू तथा अन्य स्थानीय सरकारी अधिकारीहरू सहित सबै क्षेत्रका नागरिकहरूले उत्साहपूर्वक भाग लिए।
कार्यक्रमको विशेष आकर्षण योग विद्यार्थीहरूद्वारा उन्नत योग आसनहरूको प्रदर्शन रह्यो, जसमा योग अभ्यासमा निहित अनुशासन, लचिलोपन र लालित्य प्रदर्शित गरियो। प्रदर्शनको गणमान्य व्यक्तिहरू र सहभागी सबैले सराहना गरे।
सभालाई सम्बोधन गर्दै महावाणिज्यदूतले योगलाई भारतबाट विश्वलाई दिइएको उपहार बताउँदै यसको सार्वभौमिक अपीललाई उजागर गरे। उनले शारीरिक स्वास्थ्य, मानसिक स्पष्टता र सामाजिक सद्भावलाई बढावा दिनमा योगको भूमिकामा जोड दिए । उनले योग सीमाभन्दा पर रहेको र भारत एवं नेपालबीच मित्रताको सेतु निर्माण गर्ने बताए ।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्व निरन्तर योग कार्यक्रम आयोजना गरेकोमा भारतको महावाणिज्य दूतावास, बीरगंजको सराहना गरे। उनले यी पहलहरूले समग्र कल्याणप्रति जनचेतना बढाएको र दुवै राष्ट्रहरूबीचको गहिरो सांस्कृतिक तथा जनस्तरको सम्बन्ध अझ मजबुत भएको बताए ।
मध्यरातको वर्षाका बाबजुद, ठूलो संख्यामा योगप्रेमीहरू स्वास्थ्य, सद्भाव र समग्र कल्याणको उत्सव मनाउन बिहानै भेला भए। यस आयोजनाले सीमापार एकता, लचिलोपन र दिगो जीवनशैलीलाई बढावा दिने योगको शक्तिलाई सुदृढ गरेकाे छ ।
योगका फाइदाहरूबारे जनचेतना बढाउने र भारत-नेपाल मित्रतालाई अझ सुदृढ गर्ने उद्देश्यले योग कार्यक्रमहरूको शृङ्खला आयोजना गरेको थियो। कार्यक्रमहरूको यो शृङ्खला आज प्रतिष्ठित शंकराचार्य गेटमा मुख्य अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमसहित सम्पन्न भएकाे छ ।