बाजुरा- साँफे-मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
शनिबार बिहान ७:१० बजे महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो । बस खप्तड छेडेदह गाउँपालिका–०५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढाले चलाएका थिए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले २४ जना घाइतेलाई उद्धार गरी २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल मार्तडी र १ जना घाइतेलाई प्रादेशिक अस्पताल बयलपाटा अछाम पठाईएको छ ।
उक्त बसमा चालक सहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेका छन् भने घटनाबारे थप अनुसन्धान समेत भईरहेको छ ।