जनकपुरधाम- १२औँ अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्वसन्ध्यामा जनकपुरधाममा पाँचौँ योग कार्यक्रम सम्पन्न भएकाे छ । पूर्वसन्ध्यामा भारतको महावाणिज्य दूतावास, वीरगन्जले जनकपुरधाम उपमहानगरपालिका तथा जानकी मन्दिरको सहकार्यमा जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा पाँचौँ योग कार्यक्रम सम्पन्न भएकाे हाे ।
“स्वस्थ आयुकालागि योग” भन्ने मूल विषयवस्तु अन्तर्गत आयोजित कार्यक्रममा ६०० भन्दा बढी सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। साथै मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ,प्रदेश सभाका सभामुख राम आशिष यादव र जनकपुरधाम उप-महानगरपालिकाका मेयर मनोज कुमार साह र स्थानीय बासिन्दा, विद्यार्थी, योग साधक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद यादवले जानकी मन्दिरजस्तो पवित्र स्थलमा योग कार्यक्रम आयोजना गरिएकोमा प्रशंसा व्यक्त गर्दै योगले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। उनले नागरिकहरूलाई योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै देवी सहाय मीनाले नियमित योगाभ्यासले दीर्घकालीन स्वास्थ्य, मानसिक एकाग्रता तथा आन्तरिक शान्ति प्राप्त गर्न सहयोग पुग्ने बताए। उनले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषयवस्तुअनुसार स्वस्थ वृद्धावस्था तथा सामूहिक कल्याणका लागि योगलाई जीवनशैलीका रूपमा अपनाउन सबैलाई आग्रह गरे।
कार्यक्रमको समापन प्रशिक्षित प्रशिक्षकहरूको नेतृत्वमा सामूहिक योग अभ्यासमार्फत गरिएको थियो। सहभागीहरूले “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने सन्देशलाई आत्मसात् गर्दै योगमार्फत स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।