- सवारीसाधन भन्सारमा भौतिकरूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला
- मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन भने नियमसंगत भएको निष्कर्ष
काठमाडौं- रसुवा भन्सारबाट भित्रिएका विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा कैफियत भेटिएको छ । भन्सार विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा सवारीसाधन भन्सारमा भौतिकरूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला पारेको जनाएको छ ।
जेठ १५ गते संसद्मा बजेट भाषण गर्नुअघि नै सूचना चुहाएर राज्यलाई अर्बौंको नोक्सानी पुर्याएको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा तानिएका थिए । बजेट भाषणअघि नै जाँचपास गरेर बजेटपछि गाडी ल्याइएको भन्दै रसुवा र मुस्ताङ भन्सारबाट भित्रिएका बिवाइडीका गाडीहरु नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।
सोही प्रकरणमा अनुसन्धान गर्न रसुवा र मुस्ताङ भन्सार कार्यालयमा अनुगमन टोली खटाइएको थियो । अनुगमन टोलीले प्रतिवेदन बुझाएपछि विभागले शुक्रबार विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन भने नियमसंगत भएको पाइएको विभागले जनाएको छ । विभागका अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको प्रतिवेदन दिएको जनाएको छ । ती सवारीसाधन गत जेठ १४ गते नेपाल प्रवेश गरेको थियो ।
अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सिसिटिभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती सवारीसाधन जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्म भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए ।
यता रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको सो कार्यालयमा गएको अनुगमन टोलीले औंल्याएको छ । सो टोलीले प्रज्ञापनपत्र कार्यालयको अभिलेखलगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारीसाधन भन्सारमा भौतिकरूपमा आइ नपुग्दै कागजातका आधारमामात्र जाँचपास गरिएको कैफियत फेला पारेको छ ।
अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको थियो । भन्सार विभागले लक्ष्मी इमोविलिटी प्रालि काठमाडौं, साइमेक्स इन्क लिमिटेड, काठमाडौं, सिजी मोटर्स प्रालि ललितपुर, पूजा इन्टरनेसनल प्रालि काठमाडौं र एजेन्ट नम्बर ८३३ र एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई प्रचलित भन्सार कानुनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाएको जानकारी दिएको छ ।