काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संस्कृति संस्थानको ५४औँ वार्षिकोत्सव समारोहमा उनले नेपाली कला, संस्कृति र परम्पराले नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
मन्त्री पौडेलले भने, “कला र संस्कृतिको हिसाबले नेपाल विश्वमै धनी राष्ट्र हो । संस्कृति, प्रकृति र विकृतिका विषयमा कलाकारहरू पनि उत्तिकै सचेत हुन आवश्यक छ ।” संस्कृति संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संस्थानले विगतदेखि नै नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको जानकारी दिए । उनले भने, “नेपाली कला र साहित्यको संरक्षणमा हामी निरन्तर क्रियाशील छौँ । यस अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।”
सो अवसरमा नेपाली कला, साहित्य तथा लोकसङ्गीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने लोकदोहोरी गायकद्वय पुरुषोत्तम न्यौपाने, रामप्रसाद खनाललगायतलाई सम्मान गरिएको थियो । सांस्कृतिक संस्थानको वार्षिकोत्सव अवसरमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता-२०८३’ आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने सहभागी टिमलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।