- मुद्दामा दिपक भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार रुपैयाँ र सुलभ अग्रवालको हकमा २५ अर्ब ५९ करोड २० लाख छ हजार रुपैयाँ बिगो दाबी
- भट्टले भृकुटी स्टक ब्रोकिङ कम्पनी लिमिटेडमार्फत सेयर खरिद बिक्रीको कारोबार गरेको नेपाल टेलिकमबाट प्राप्त एसएमएस डिटेलबाट खुल्न आएको अदालतको ठहर
- जगदम्बा स्टिल लिमिटेडको खाता सञ्चालकको हैसियतमा सुलभले नै चेकमा सहीछाप गरेको देखिएको र उनी अध्यक्ष रहेको सौर्य सिमेन्टको आइपी एड्रेस प्रयोग गरी सेयर कारोबार भएको भन्ने इन्टरनेट सेवाप्रदायक वर्डलिंक प्रालिको पत्रबाट देखिएको अदालतको ठहर
काठमाडौं- विशेष अदालतका अदालतले विवादास्पद व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले व्यवसयाी भट्ट र सुलभलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
भट्टको हकमा स्वास्थ्योपचारका लागि व्यवस्थासमेत गर्न अदालतले आदेश दिएको छ । ‘प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी प्रस्तुत मुद्दा पुर्पक्षका लागि यी प्रतिवादीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नेगरी विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (१) बमोजिम थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू,’ विशेषको आदेशमा भनिएको छ ।
उक्त आदेशपछि बुधबार नै भट्ट र अग्रवाललाई डिल्लीबजार कारागार चलान गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी भट्टलाई चैत १९ गते नियन्त्रणमा लिएको थियो । यसैगरी अग्रवाललाई भट्टसँगको संलग्नताको आधारमा चैत २२ गते गते पक्राउ गरेको थियो । विभागले भट्ट र अग्रवालहित करिब २४ जना व्यवसायीलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको थियो ।
मुद्दामा भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार रुपैयाँ र सुलभको हकमा २५ अर्ब ५९ करोड २० लाख छ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । दुवैविरुद्ध जिल्ला अदालतमा धितोपत्र र बिमा तथा उच्च अदालतमा बैंकिङ कसुरको मुद्दा पनि विचाराधीन छन् भने तीनवटा मुद्दामासमेत थुनछेक प्रक्रिया सुरु भएको छैन ।
अदालतले प्रतिवादी भट्ट र सुलभले सम्पत्ति शुद्धीकरण गर्न आएको विभिन्न कागजात र एसएमएस डिटेलबाट खुलेको जनाएको छ । ‘प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरण गरेको भनी उल्लेख गरिएको विवरण, जगदम्बा स्टिल्स लिमिटेडबाट प्रतिवादी दिपक भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको नाममा रहेको सिद्धार्थ बैंकको खातामा जम्मा भएको रकम हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर खरिदमा प्रयोग भएको भन्ने मिसिल संलग्न कागजहरूबाट खुल्न आएको,’ अदालतको आदेशमा भनिएको छ ।
जगदम्बा स्टिल लिमिटेडको खाता सञ्चालकको हैसियतमा प्रतिवादी सुलभ अग्रवालले नै चेकमा सहीछाप गरेको देखिएको, हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडबाट गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भृकुटी स्टक ब्रोकिङ कम्पनी लिमिटेडमार्फत ऋणपत्र बिक्री गरेको भए पनि सोबापतको रकम लेनदेन नभएको भन्ने नेपाल धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख भएको, प्रतिवादी सुलभ अग्रवाल सञ्चालक अध्यक्ष रहेको सौर्य सिमेन्टको आइपी एड्रेस प्रयोग गरी सेयर कारोबारहरू भएको भन्ने इन्टरनेट सेवाप्रदायक वर्डलिंक प्रालिको पत्रबाट देखिएको अदालतको आदेशमा उल्लेख छ ।
‘प्रतिवादी दिपक भट्टले भृकुटी स्टक ब्रोकिङ कम्पनी लिमिटेडमार्फत सेयर खरिद-बिक्रीको कारोबार गरेको भन्ने नेपाल टेलिकमबाट प्राप्त एसएमएस डिटेलबाट खुल्न आएको र जगदम्बा स्टिल लिमिटेडको बैंकबाट लिएको रकम इन्फिनिटी होल्डिङ्स हुँदै अन्य विभिन्न कम्पनीमार्फत भृकुटी स्टक ब्रोकिङ कम्पनीमा जम्मा गराई कारोबारको विभिन्न तह सिर्जना गरको भन्ने विभिन्न प्रतिवेदनहरूबाट देखिएको र उल्लिखित कार्यमा यी प्रतिवादीहरूको संलग्नता र भूमिकासमेतका मिसिल संलग्न आधार प्रमाणसमेतलाई मध्यनजर गर्दा दुवैको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (ङ) को अवस्था विद्यमान रहेको देखियो,’ आदेशमा भनिएको छ ।
सेयरको मूल्य प्रभावित गर्ने, सर्कुलर ट्रेडिङ गर्ने, नेपाल रिइन्स्योरेन्सको सेयर कर्नरिङ गर्ने, आपूर्ति घटाउने, संगठित समूह खडा गर्ने, नियामकहरुलाई प्रभावमा पारी आफू अनुकूलका निर्णय गराउने कार्य देखिएको पनि आदेशमा उल्लेख छ । नेपाल रिइन्स्योरेन्सका संवेदनशील सूचना चुहावट गरी लाभ लिने काम गरेको, आफ्नो आपराधिक षडयन्त्रमूलक योजनाबमोजिम सेयर कारोबारमा भट्ट र अग्रवाल दुवैले समान लक्ष्य तथा उद्देश्यसहित कसुरजन्य कार्य गरेको पनि अदालतको ठहर छ ।
आरोपपत्रअनुसार भट्टले हिमालयन रिको तीन अर्ब ८१ करोड, डिबेञ्चरमार्फत ८० करोड, नेपाल रिइन्स्योरेन्सको सेयर घाटामा बिक्री गरेको देखाइ पुनः त्यही कम्पनीको सेयर खरिदमा १२ करोड ७० लाख गरी कूल १४ वटा कम्पनी तथा कारोबारमार्फत २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ हेराफेरी गरेको फेला परेको छ । भट्ट र अग्रवालबाहेक सुभी अग्रवालविरुद्ध तीन अर्ब ९६ करोड, ऋषिराज मोरविरुद्ध तीन अर्ब ७८ करोड, कृषिभ अग्रवालविरुद्ध तीन अर्ब २८ करोड ३८ लाख, अमित मोरविरुद्ध १२ करोड छ लाख, राजकुमार मोरविरुद्ध २७ करोड ६९ लाख र भृकुटी स्टक ब्रोकरका सन्दिप चाचन अग्रवालविरुद्ध १४ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै रोहित गुप्ताविरुद्ध पनि दुवैतर्फ गरेर तीन अर्ब २५ करोड बिगो दाबी गरिएको छ । अमित मोरविरुद्ध दुई अर्ब ८५ करोड ३९ लाख, सुभेच्छा खरेलविरुद्ध २७ करोड ३३ लाख, सुभाषकुमार झुनझुनवालाविरुद्ध २७ करोड ३३ लाख, राजीव मोरविरुद्ध २७ करोड ३३ लाख, राजबहादुर शाहविरुद्ध एक अर्ब ७८ करोड र उपासना पौडेलविरुद्ध छ अर्ब चार करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।
विभागले मनिषकुमार, शिशिर गैरे, दीपककुमार श्रेष्ठ, रितेश प्रधान, सुमेर शमशेर जबरा, सुभाषबहादुर श्रेष्ठ, आशिष श्रेष्ठ, मृगेन्द्रनाथ रिमाल, सिद्धान्त झुनझुनवाला, सुरेन्द्र थापा, राजकुमार यादव, प्रतापमान श्रेष्ठ, नरेशकुमार रोका, चिरायू भण्डारी, शरद ओझा, मदन दहाल र शंकरलाल अग्रवाललाई पनि प्रतिवादी बनाएको छ ।