एएफपी- युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले रुसमाथि दबाब बढाइरहेका बेला राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्दै मस्कोको एसियासँगको सम्बन्ध विस्तारको संकेत दिएका छन् ।
मध्य रुसको तातारस्तान राजधानी कजानमा बुधबारदेखि सुरु भएको सम्मेलनमा आसियानका नेताहरूलाई स्वागत गर्दै पुटिनले पश्चिमी प्रतिबन्ध र युद्धको दबाबबीच रूसको कूटनीतिक तथा आर्थिक ध्यान एसियातर्फ मोडिएको स्पष्ट सन्देश दिए ।
फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनमा युक्रेन र मध्यपूर्व युद्ध अन्त्यका विषयमा मुख्य छलफल भइरहेका बेला यो बैठकलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घका ११ सदस्य राष्ट्रका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुन कजान पुगेका छन् । थाइल्यान्ड, भियतनाम, कम्बोडिया, लाओस, मलेसिया र सिंगापुरका प्रधानमन्त्रीहरू सहभागी छन् भने फिलिपिन्सको प्रतिनिधित्व राष्ट्रपति फर्डिनान्ड मार्कोसले गरेका छन् । सन् २०२१ को सैन्य विद्रोहपछि मस्कोसँग नजिक सम्बन्ध राख्दै आएको म्यान्माले पनि प्रतिनिधिमण्डल पठाएको छ ।

क्रेमलिनका अनुसार सम्मेलनमा विश्व तथा क्षेत्रीय सुरक्षा, व्यापार, लगानी र मानवीय सहयोगका विषयमा रूस–आसियान सहकार्यलाई नयाँ दिशामा लैजानेबारे छलफल हुनेछ । यो बैठक रूस र आसियानबीचको ३५ वर्षे सम्बन्धको स्मरणसँग पनि जोडिएको छ । युक्रेन युद्धका कारण पश्चिमी देशहरूको कडा प्रतिबन्ध सामना गरिरहेको रूसले पछिल्ला वर्षहरूमा आफ्नो ऊर्जा निर्यात, विशेषगरी तेल, एसियाली बजारतर्फ केन्द्रित गरेको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले देशमा निरन्तर तेल आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल गर्ने चाहना व्यक्त गरेका छन् ।