काठमाडौं - अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित नेपाली एसोसिएसन्स अफ नर्दन क्यालिफोर्निया (NANC) को तर्फबाट नेपालका विपद् प्रभावित समुदायको राहत तथा पुनर्स्थापना कार्यका लागि रु. १ करोडको राहत सहयोग रकम आज नेपाल सरकारका माननीय पूर्वाधार मन्त्री सुनील लम्साललाई हस्तान्तरण गरिएको छ।
क्यालिफोर्नियाको हर्कुलिस सहरका काउन्सिल सदस्य तथा मेयर–इलेक्ट, नेपाली मूलका पहिलो निर्वाचित जनप्रतिनिधि डिल्ली भट्टराई को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। प्रतिनिधिमण्डलमा NANC का उपाध्यक्षद्वय पशुपति कडेल र पवन बिष्ट लगायत तुलसी चैालागाई, शुभाष थापा, राम काजी खड्का, शेखर कँडेल र शर्मिला सुवेदीसमेत सहभागी थिए ।
नेपालमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको पीडामा साथ दिनु, राहत तथा पुनर्निर्माण अभियानमा योगदान पुर्याउनु र मातृभूमिप्रतिको दायित्व निर्वाह गर्नु यस सहयोगको मुख्य उद्देश्य रहेको राहत सँकलन सँयोजक तथा NANC का उपाध्यक्ष पवन बिष्टले बताए ।
रकम हस्तान्तरणका क्रममा प्रतिनिधिमण्डलका नेता डिल्ली भट्टराईले भने, “हामी भौगोलिक रूपमा नेपालबाट टाढा रहे पनि हाम्रो मन, माया र जिम्मेवारी मातृभूमिसँगै जोडिएको छ। यो एक करोड रुपैयाँ केवल आर्थिक सहयोग मात्र होइन, विदेशमा बस्ने नेपालीहरूको एकता, र नेपालको पुनर्निर्माणप्रतिको प्रतिबद्धताको प्रतीक हो। विपद्को यस घडीमा हामी नेपाल र नेपाली जनताको साथमा छौँ।"
बे एरिया नेपाली समुदाय र NANC ले यस सहयोगमार्फत नेपाल र प्रवासी नेपाली समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पनि मानवीय सहयोग, पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा लगानी सहकार्यका क्षेत्रमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिमण्डलले सहयोग रकमको प्रभावकारी, पारदर्शी र लक्षित उपयोगमार्फत वास्तविक विपद् प्रभावित नागरिकसम्म राहत पुग्ने विश्वास व्यक्त गरेको छ।