काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिका बारेमा प्रष्ट पार्न आग्रह गरेका छन् ।बैठकको सुरुमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौँका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नेपालको संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरेको जानकारी गराउँदै प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिएको धारणाका सम्बन्धमा ‘रुलिङ’ गर्न र संसद्मा नै आएर आफ्नो धारणा सच्याउन आग्रह गरे ।
उनले सरकारका मन्त्रीहरूले नै विभिन्न स्थानमा गैरजिम्मेवार अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे।नेकपा (एमाले)का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा नेपालको सीमा अतिक्रमण भएको उल्लेख गर्दै देशभन्दा माथि कोही पनि नरहेको धारणा राखे । उनले सुकुम्बासीलाई राखिएको ‘होल्डिङ सेन्टर’मा मानवोचित व्यवहार नभएको भनी सरकारको ध्यानाकर्षण गराए।