काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले बजेटमा योजनाहरू स्पष्ट रूपमा नआएको भन्दै प्रतिनिधि सभा बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
मुख्य सचेतक दुलालले इतिहासलाई वस्तुपरक ढङ्गले विश्लेषण गर्नुपर्नेमा जोड दिए ।आर्थिक वर्ष २०६५/६६ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ६० प्रतिशत ठूलो आकारको बजेट ल्याएर राजश्वको दायरा र अर्थतन्त्रको आकार बढाएको स्मरण उनले गराए ।
उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौंका फराकिला सडक र ऊर्जा क्षेत्रमा १० हजार मेगावाटको लक्ष्यजस्ता गौरवका योजनाहरू विगतका सरकारकै दूरदृष्टि भएको दाबी गरेका छन् । सांसदहरूले मन्त्रालयमा दर्ता गराएका योजनाहरू रातो कितावमा नसमेटिएको र सरकारले ब्लकमा बजेट राखेको भन्दै उनले आलोचना समेत उनले गरे ।
उनले मेलम्ची–इन्द्रावती नदी एकीकृत संरक्षण आयोजना सञ्चालन गर्न र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका सडकहरू (मेलम्ची–घ्याङ, सुन्दरीजल–चिसापानी–इचोक र पाँचपोखरी–याङ्ग्री क्षेत्र) लाई बहुवर्षीय ठेक्कामा लैजान माग पनि गरेका छन् ।