कर्णाली- कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालय/विद्यालयका प्रशिक्षकका लागि सुर्खेतमा सीपमूलक प्रशिक्षण सञ्चालन गरेको छ । कर्णााली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि सीपमूलक प्रशिक्षण सुरु गरेको हो ।
प्रशिक्षण यही असार १० गतेसम्म सञ्चालन हुनेछ । प्रशिक्षणको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले घरेलु क्षेत्रमै रोजगार बजार सृजनाका लागि पर्याप्त जनशक्ति उत्पादनका लागि प्रशिक्षण आवश्यक भएको बताए। उनले प्राविधिक शिक्षाप्रति पछिल्लो समयमा चासो घट्दै गइरहेको सन्दर्भमा अब नयाँ सोचका साथ योजनाबद्ध रुपमा सक्रिय हुन आग्रह गरे ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश परियोजना सहयोगमा कार्यरत प्रदेश प्रबन्धक वेदप्रसाद डाँगीले प्राविधिक शिक्षालय तथा विद्यालयमा अध्यापनरत प्रशिक्षकहरुका लागि विधि र सीप केन्द्रित प्रशिक्षणात्मक सीपमूलक तालिम सञ्चालन गरिएको बताए । तालिममा कम्प्युटर विज्ञान, सिभिल इन्जिनिरियङ, फरेस्ट्री, बाली तथा पशु विज्ञान र फार्मेसी ट्रेड (विषय)सँग सम्बन्धित मुगु, जाजरकोट, दैलेख र सुर्खेतका २५ प्रशिक्षकहरुको सहभागिता रहेको जनाए ।
प्रबन्धक डाँगीका अनुसार सिटिइभिटीका आङ्गिक प्राविधिक शिक्षालय, प्राविधिक शिक्षा सामुदायिक विद्यालय र निजी विद्यालयमा कार्यरत प्रशिक्षकहरुलाई प्राविधिक तथा व्यावसायिक विधि र सीप कक्षा कोठामा कसरी प्रशिक्षार्थीहरुलाई प्रदान गर्ने भन्ने बारेमा तालिम दिइनेछ । चालु आर्थिक वर्षको यो चौथो ब्याज हो । प्रदेश सरकारले भने सिटिइभिटीका आङ्गिक शिक्षालयहरुमा सरकारी लगानी बढाएको बताएको छ ।