काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति थापाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय उमेरमा निधन भएका भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भण्डारीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्थापनाकालमा झापा जिल्ला र विशेषगरी मेची क्याम्पसको विद्यार्थी राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माको परिवारका ज्येष्ठ अभिभावकसमेत भएका स्वर्गीय भण्डारीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कठोर जेलजीवन र शारीरिक यातना भोग्नुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
भण्डारीको निधनप्रति कांग्रेस सभापति थापाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन। सभापति थापाले भण्डारीको निधनबाट पार्टीले एक अथक र अविचलित योद्धा गुमाएको बताए। उनले शोकको यस घडीमा स्व भण्डारीकी धर्मपत्नी सन्ध्या भण्डारी, छोरा शरद, छोरीहरू अनुपमा र सम्पूर्णतासहित सम्पूर्ण परिवारजनमा व्यक्तिगत र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।