काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले छलफल गरेका छन् ।
छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदहरुले बजेटका सकारात्मक पक्षबारे चर्चा गर्नुभयो भने विपक्षी दलका सांसदहरुले बजेटमा जनताका अपेक्षाअनुसारका कार्यक्रम नसमेटिएको धारणा राखे। सांसद बदनकुमार भण्डारीले बजेटमा रहेको बिमाको प्रावधानले आमनागरिकको स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताए । साथै उनले बजेटमा आयकर छुट दोब्बर गरिएको, शिक्षामा बजेट वृद्धि भएको, टेलिकमको सेयर जनतामा प्रवाह गर्ने र लगानी गर्नेलगायतका सकारात्मक पक्ष रहेकाबारे चर्चा गरे।
सांसद पद्माकुमारी अर्यालले आमनागरिकले अपेक्षा गरेअनुसारको बजेट नआएको उल्लेख गर्दै बजेटमा केही राम्रा विषय पनि रहेको बताइन । सांसद सुजाता तामाङले रासायनिक मलका लागि अत्यधिक बजेट विनियोजन गरिएको उल्लेख गर्दै माटोको अवस्था सुधार गर्नुपर्ने र प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने बताइन्।
सांसद बोधनारायण श्रेष्ठले बजेटले विभिन्न नयाँ विषयका सुधारका कुरा क्रमभङ्गता गरेको उल्लेख गर्दै व्यक्तिगत आयकर छुट रकम वृद्धि, प्रशासनिक मितव्ययिता, नागरिक उड्डयनलाई नियामक र कार्यात्मक गरी विभाजन गरिएजस्ता सकारात्मक विषयबारे चर्चा गरे ।
सांसद रञ्जु न्यौपानेले जनतालाई निशुल्क उपलब्ध गराइने सेवाका लागि सरकारले कहीँ न कहीँ लागत उठाउनैपर्ने उल्लेख गर्दै त्यसका लागि बजेटमा अर्थमन्त्रीले स्पष्ट रुपमा उल्लेख गरेकाे बताइन् । साथै उनले बालबालिकाका क्षेत्रमा राज्यको लगानी अझै नपुगेको भन्दै बजेटमा कर्मचारीको तलब वृद्धि, सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलगायत सकारात्मक विषय रहेका बताइन्।
सांसद पुनमकुमारी अग्रवालले हरेक वर्ष रासायनिक मल अभाव हुने गरेको अवस्थामा अग्र्यानिक खेतीका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन् । साथै उनले मुलुकमा नागरिक सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्न सुझाव दिइन् ।