काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गोपाल योञ्जनको गीत गाएका छन् । नेपाल राष्ट्र प्रति संवेदनशीलता प्रकट गर्न बुधबार ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न । घोटिएर हात पाउ झरि जाउन औंला, तर कोही अगाडि यी हात जोडिन्न,’ योञ्जनका गीत आङ्देम्बेले सम्झिए ।
नेपालले भारतको जमिन कहिल्यै नमिचेको उनले बताए । भारतले नेपालको जमिन मिचेको विभिन्न तथ्यले देखाएको बताए ।तर प्रधानमन्त्रीले नेपालले पनि जमिन मिचेको भने झैँ गरी बोलेको र आफूहरूले प्रश्न उठाएको बताए ।प्रधानमन्त्री संसद्मा आफैँले बोलेको अभिव्यक्तिमा प्रश्न उठेपछि नआएको र यहीकारण संसद बन्धक बन्न पुगेको भनेर उनले अगाडि बढ्न आफूहरू नै तयार भएको बताए ।
संसद्मा सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ पनि परराष्ट्रमन्त्री शिशिर खनालले दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए ।
परराष्ट्रमन्त्रीको यस्तो जवाफपछि संसद्मा बोल्दै कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले जे जस्ता तर्क गरे पनि प्रधानमन्त्रीको अभिव्यक्ति कहिल्यै स्वीकार गर्न नसकिने उनले बताए । यसक्रममा उनले गोपाल योञ्जनको राष्ट्रवादी गीत सम्झिएका हुन् । रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सीमानाको विषयमा छलफल नगरेको भन्दै उनले आपत्ति जनाएका छन् ।
उनले लामिछानले सीमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । ‘दिल्लीमा हुँदा सीमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो,’ उनले भने,’ हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड छन् ।’