काठमाडौं - नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ ।केही दिनअघि स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा निधन भएको हो ।
पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक सुमन दाहालले बताए । काठमाडौँ, जोरपाटीका स्थायी बासिन्दा उनी डेढ दशकदेखि अमेरिकामा बस्दै आएका हुन् । पत्नी, दुई छोरी र एक छोरासहित उनी बोस्टनमा बस्थे ।
उनले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’ ‘निखिल दाइ’लगायतका चलचित्रको लेखन, निर्देशन गरेका छन् । उनले केही समय जोरपाटीमा चापागाईं सुटिङ स्टुडियो सञ्चालन गरेका थिए । चलचित्र क्षेत्रमा सक्रिय हुनुअघि उनी नाट्यकर्मी थिए । त्यसपछि भिडियो फिल्म हुँदै ठूलो पर्दाका चलचित्रको सहायक निर्देशकका रूपमा सक्रिय भए ।
चापागाईँको निधनप्रति सामाजिक सञ्जालबाट विभिन्न कलाकर्मीले शोक व्यक्त गरिरहेका छन् ।