काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीअघि जेन-जीहरूले धर्नासहित नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरू सडकमा भेला भएर हातमा प्लेकार्ड बोकी आफ्ना माग सार्वजनिक गरेका थिए। उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
प्रदर्शनमा महिला तथा युवा सहभागी देखिएका छन्। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए। सरकारसँग गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्ने, घाइते तथा शहीदहरूको यथाशीघ्र उचित व्यवस्थापन गरिनुपर्ने तथा झुटा मुद्दामा फसाइएका जेन-जीहरूलाई हिरासतमुक्त गरिनुपर्ने प्रदर्शनकारी जेन-जीहरूको माग छ ।
आन्दोलनमा जेन-जी, घाइते तथा सहिद परिवारका सदस्यहरू सहभागी भएको जेन-जी अभियन्ता सरिस्मा थापाले बताइन् । उनले भनिन्, ‘अहिले पनि जेनजी आन्दोलनको बेला झुटा मुद्दामा फसाइएका भाइबहिनीहरू हिरासतमा छन् । उनीहरूलाई बिनासर्त रिहा गरिनुपर्यो । १० बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्यो ।’ आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने थापाले बताइन् ।