काठमाडाैं - सुदूरपश्चिम सरकारका मन्त्रीहरू फेरबदल अघि मन्त्रिपरिषद् बैठक राखिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको हो ।
मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । यो बैठकबाटै मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई धन्यवादसहित औपचारिक रूपमा बिदाइ गर्ने बताइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने बैठकको एजेन्डा तथा उद्देश्यबारे प्रस्ट खुलाएको छैन ।
यद्यपि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्मा हेरफेर गर्ने योजना बनाएका छन् । सोही अनुसार सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेका छन् ।
सम्भवतः आजै मुख्यमन्त्री शाहले नयाँ मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ । त्यसअघि पुराना मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद् बैठक राखेर उनले धन्यवाद दिन लागेको स्रोत बताउँछ ।