काठमाडौ- राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना र मुलुकको समृद्धिका लागि हरितकर लगानी विस्तारमा जोड दिएका छन् ।
सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १.० शेयर द स्कोप, रेज द होप’ विषयक कार्यक्रममा विभिन्न वक्ताले जलवायु वित्त, लगानी, कार्बन बजार, हरित लगानी, समुदायमा आधारित जलवायु समाधान, दीगो विकास र नवप्रवर्तनलाई बहुपक्षीय सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतिनिधिसभा सदस्य सुशील खड्काले आर्थिक वर्ष २०८३।०८४ को बजेटले ‘बिग डिपार्चर’ गरेको र अबको पाँचदेखि सात वर्षमा वार्षिक सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको बताए ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जलवायु सङ्कट समाधानका नीतिगत र कानूनीका पक्षमा सहकार्यको दायरा बढाउन आग्रह गरे। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले अन्तरराष्ट्रिय जलवायु कोषको लगानीलाई नेपालमा बढाउनुपर्ने माग गरे।
ऊर्जा विज्ञ डा रामप्रसाद धितालले स्वच्छ एवं वैकल्पिक ऊर्जामा लगानी र प्रयोग बढाउनुपर्नेमा जोड दिए । सहारा नेपालका महासचिव महेन्द्र गिरी र निर्देशक युवराज शिवाकोटीले जलवायु परिवर्तनको चुनौतीको सामनाका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार र समुदायसमेतको बहुपक्षीय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।