रौतहट- रौतहटको गढीमाई नगरपालिका- ४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डमा साइकल यात्रुलाई टिप्परले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब ६ बजे सडक छेउमा एक पुरुषको शव रहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४०–४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्। मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा साइकलमा यात्रा गरिरहेका ती व्यक्तिलाई टिप्परले ठक्कर दिएको हुनसक्ने आशंका गरिएको छ। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा ‘सिन अफ क्राइम’ (SOCO) टोलीसमेत घटनास्थल पुगेको थियो।
मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनामा संलग्न सवारी साधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय समनपुरबाट करिब ४ किलोमिटर पश्चिमतर्फ रहेको छ।