काठमाडौं- ‘नयाँ विश्व व्यवस्थामा उन्माद, उपचार र सिर्जनात्मक लेखन’ भन्ने मूल विषयमा केन्द्रित ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप, २०२६’ सम्पन्न भएको छ । आठ दिनसम्म चलेका साहित्यिक संवाद, सांस्कृतिक आदानप्रदान, कार्यशाला, कविता वाचन, चलचित्र प्रदर्शन तथा समुदायमुखी कार्यक्रमसहित महेत्वस सम्पन्न भएको हो ।
महोत्सवले नेपाल तथा विश्वका विभिन्न देशका लेखक, कवि, विद्वान, अनुवादक, चलचित्रकर्मी, शिक्षक तथा विद्यार्थीलाई एकै मञ्चमा ल्याएको थियो । गत मे २९ देखि यही जुन ५ सम्म काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक स्थलमा आयोजित महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के स्मिथ र पल मुल्डुन, ब्रुकलिन पोएट लरेट टिना चाङ, द आयरिस टाइम्सका पुस्तक सम्पादक मार्टिन डोयल, प्रख्यात कवि तथा अनुवादक टोनी बार्नस्टोन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज तथा हिमाली कवि युयुत्सु शर्मालगायत एशिया, युरोप, उत्तर अमेरिका, अफ्रिका र अस्ट्रेलियाका ७५ भन्दा बढी लेखक, कलाकार, विद्वान तथा सांस्कृतिककर्मीको सहभागिता थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाबाट उद्घाटन भएको महोत्सवले साहित्य, कला, अध्यात्म तथा चिन्तनशील परम्पराको रूपान्तरणकारी शक्तिमाथि विमर्श गरेको छ । सहभागीले मास्टरक्लास, सिर्जनात्मक लेखन कार्यशाला, प्यानल छलफल, कविता वाचन, सांस्कृतिक प्रस्तुति तथा काठमाडौँ दरबार क्षेत्र, पाटन, बौद्धनाथ, बूढानीलकण्ठ र नगरकोटका सांस्कृतिक भ्रमणमा सहभागिता जनाउनुका साथै नेपालको सांस्कृतिक तथा आध्यात्मिक सम्पदासँग गहिरो परिचय गरेका थिए ।
साहित्य, कविता र चलचित्रबीचको अन्तरसम्बन्धलाई समर्पित यो नेपालकै पहिलो अन्तरराष्ट्रिय कविता चलचित्र महोत्सव भएको र यस पहलले साहित्यिक कल्पनालाई दृश्य माध्यममार्फत नयाँ अभिव्यक्ति प्रदान गर्दै अन्तरविषयक संवादका लागि नयाँ सम्भावना सिर्जना गरेको महोत्वसका संस्थापक तथा निर्देशक ययुत्सु आरडी शर्माले बताए ।
महोत्सवको विशेष आकर्षणमध्ये कविता र चलचित्रको सम्बन्धबारे आयोजित प्यानल छलफल पनि एक थियो, जसमा चलचित्रकर्मी पिटर सालिस्बरी र कारोला मायर तथा इन्स्टिटुटो सर्भान्तेसकी निर्देशक मारिया गिल बर्मान सहभागी हुनुहुन्थ्यो । स्रष्टा अकीरा कुरोसावा, लुइस बुनुएल, जोन बुरम्यान, जाँ ल्युक गोदार, फ्राँस्वा त्रूफो, आन्द्रेज वायदा, वोइचेख हास र क्रिस्टोफ किस्लोभ्स्कीजस्ता विश्वप्रसिद्ध निर्देशकको प्रभावबारे पनि चर्चा गरिएको थियो ।
यो अन्तरराष्ट्रिय चलचित्र कार्यक्रम पोलिस इन्स्टिच्युट नयाँदिल्ली, इन्स्टिटुटो सर्भान्तेस, पोर्चुगल दूतावास, अस्ट्रियन कल्चरल फोरमलगायत सांस्कृतिक आदानप्रदानमा भएको थियो ।